
काठमाडौँ । मतदान भइरहँदा आज अपराह्न काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा क्षणिक वर्षा भएको छ ।
वर्षाका कारण मतदान केन्द्रमा लामबद्ध मतदातालाई केहीबेर अवरोध गरेको थियो । गोकर्णलगायत क्षेत्रमा भारी वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भेगमा पनि क्षणिक वर्षात् भएको थियो ।
उपत्यकासहित मध्य, पूर्वी र पश्चिम भेगमा विभिन्न क्षेत्रमा साँझपख पनि हल्का वर्षात् हुने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिनुभयो ।
पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणसँगै भारतको विहारमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बद्लीसँगै वर्षात् गराएको उहाँले उल्लेख गर्नुभयो ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी जिरीमा ३६, भैरहवामा २३, सिमरामा १८, दाङमा ११ र धनकुटामा तीन मिलिमिटर वर्षात् भएको छ । काठमाडौँको वर्षात् रेकर्ड गरिएको छैन ।
मौसमविद् पोखरेलका अनुसार सोमबार बढी प्रभाव रहने र मङ्गलबारदेखि केही सुधार आएपनि मनसुनपूर्वको समय भएकाले अपराह्न बद्ली र वर्षात् हुने क्रम जारी रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको विवरणअनुसार नेपालको दक्षिणी भाग नजिक रहेको पूर्व–पश्चिम फैलेको न्यूनचापीय रेखा, पूर्वी नेपाल नजिक रहेको उत्तर–दक्षिण फैलेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट सतहीरुपमा आइरहेको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभाव देखिएकाले आगामी ७२ घण्टासम्म अपराह्न वा साँझपख मौसममा सामान्य बदली भई प्रदेश नं ३, ४ तथा ६ का केही पहाडी भूभागमा हल्का वर्षा हुने देखिन्छ । रासस