३१ बैशाख २०७४, आईतवार

नुवाकोट ।  सदरमुकाम विदुरदेखि २३ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नम्बर ४ ढाडाखर्कस्थित पन्चासे मावि मतदान केन्द्र नजिकै मध्यान्ह वम विष्फोट भएको नुवाकोट प्रहरीले जनाएको छ । मतदान केन्द नजिकै मतदान भइरहेको समयमा वम विष्फोट भएको छ ।

बम बिष्फोटमा संलग्न भएको आशंकामा स्थानीय २२ वर्षिय तीर्थराम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक देववहादुर वोहराले जानकारी दिए ।

तामाङ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशंकामा अनुसन्धान भइरहेको छ । विष्फोट भएको वम सकेट वम भएको स्थानीयवासीले जनाएका छन् ।
उत्साहपूर्ण रुपमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रदेखि चारसय मिटर टाढा भएको वम विष्फोटले कुनै पनि क्षति नपु¥याएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए । निर्भयका साथ मतदान गर्न प्रजिअ पोखरेलले मतदातालाई आग्रह गरेका छन् ।
५० प्रतिशत मत खस्यो
विदुर र वेलकोटगढी नगरपालिका र १० गाउंपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटमा स्थानीय तहमा आफ्ना जनप्रतिनिधि चयनका लागि मतदाताहरु निकै उत्साहित भई मतदान गरेका छन् । आइतवार मध्यान्हसम्म नुवाकोटमा दुई लाख ८५ हजार सातसय ८२ मतदातामध्ये ५० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

१८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम भएका महिला, वृद्धवृद्धा, अपांग, अशक्तले दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निकै रुचिका साथ मतदान गरेको चन्द्रज्योति मावि मतदान केन्द्रका मतदान अधिकृत उमानाथ भण्डारीले बताए । आफ्नो अधिकार सुनिश्चित गर्न र आफुले चाहेका उम्मेदवारलाई जिताउन आफुले मतदान अर्थात् आत्मदान गरेको विदुर नगरपालिका वडा नं. ५ पिपलटारका देृष्टविहीन मतदाता दीपक माझीले बताए ।
उनले आफ्नी पत्नीलाई सहयोगी राखेर मतदान गरे । नुवाकोटमा कायम एकसय २९ मतदान स्थलमा रहेको दुई सय ४० मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
मतदान समय वेलुकी पांच वजेसम्म नुवाकोटमा कुल मतदातामध्ये ८० प्रतिशत मत खस्ने आंकलन गरिएको पर्यवेक्षकहरुले वताएका छन् । पांच गाउंपालिका रहेको रसुवामासमेत आइतवार मध्यान्हसम्म ४५ प्रतिशत मत खसेको छ ।

LIVE TV