३० बैशाख २०७४, शनिबार

काठमाडौं । यसैबीच आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

नेपाली सेना ३१ हजार, नेपाल प्रहरी २२ हजार ६९५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २४ हजार ७७७ जना निर्वाचनका लागि परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिनिधि छनौट हुनेछन् ।
केन्द्रीय तहमा सुरक्षा योजना बनाइ क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ । निर्वाचन हुने सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको हो । प्रवक्ता पन्थीका अनुसार निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ ।
गृह मन्त्रालयले सुरक्षा कमजोरी देखिए तत्काल त्यसलाई सच्याउँदै संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ ।
निर्वाचन विरोधी कुनै गतिविधि भएमा तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको प्रहरीले जनाएको छ । निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौँ, पोखरा, सुर्खेत र हेटौँडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
सुरक्षाका लागि आवश्यक काममा मद्दत गर्ने तथा निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री पु¥याउने काममा हेलिकप्टरको प्रयोग भइरहेको हो । पहिलो चरणको निर्वाचनमा करिब ३१ हजार नेपाली सेना सुरक्षाका लागि खटिने र उनीहरुले बाहिरी घेरामा रहेर सुरक्षा दिने छन् । सेनाले सुरक्षाको प्रत्याभूति दिन नियमित गस्ती गरिरहेको छ ।
त्यस्तै, सुरक्षालाई मध्यनजर गर्दै विष्फोटक पदार्थ निष्क्रिय पार्नका लागि समेत विभिन्न जिल्लामा टोली तयारी अवस्थामा राखिएको छ ।

 

LIVE TV