३० बैशाख २०७४, शनिबार

काठमाडौं । निर्वाचन आयोगले आइतबार बिहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदाताहरुले मतदान केन्द्रमा मतदान गर्न पाउने जनाएको छ । आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचनमा एक दिन राष्ट्रका लागि समय दिएर निर्वाचनमा सहभागी भई मतदान गर्न सबैसंग आह्वान गरेको छ ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले ऐतिहासिक निर्वाचनमा सबै जनाले आफनो अमुल्य मत दिएर निर्वाचनमा होमिनुपर्ने बताए । उनले तीनवटा प्रदेशका सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान अधिकृत र सुरक्षाकर्मी पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसक्नुभएको पनि जानकारी दिए ।

कार्यक्रममा प्रमुख आयुक्त यादवले आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार लगायतलाई आह्वान पनि गरे । उनले पहिलो चरणको निर्वाचनले संविधान कार्यान्वयनलाई एउटा नयाँ अध्यायमा लाने बताउँदै कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

आयोगले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएको समेत बताए ।

LIVE TV