२९ बैशाख २०७४, शुक्रबार

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्माणको घोषणा भएको छ । फिल्ममा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नयाक धिरज मगरले अनस्क्रीन रोमान्स गर्नेछन् । निर्माण पक्षका अनुसार लण्डनमा छायांकन हुने सो फिल्मको छायांकन जुन १६ बाट सुरु गरेर अगष्ट ७ मा सक्ने योजना रहेको छ ।


राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा फिल्मको घुम्टो उघारियो भने फिल्ममा (मीरा) मिन्टुको रोलमा साम्राज्ञी र (इशान) इन्टुको रोलमा धिरज मगर देखिनेछन् । फिल्ममा साम्राज्ञी र धिरजको साथमा सरुक ताम्राकार, सुनिसा बजागाँइ, विवेक लिम्बुको पनि मुख्य भुमिका रहनेछ ।


फिल्मको निर्माण पक्षकाअनुसार नेपालबाट लण्डन पुगेका एक यूवा र लण्डनमै रहँदै आएकी एक राजदुतकी छोरीको कहानीलाई ‘इन्टु मिन्टु लण्डनमा’ प्रस्तुत गरिने भएको छ । फिल्मलाई काठमाण्डौं र लण्डनमा खिचिनेछ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जवराको मुख्य रोल हुनेछ ।

फिल्ममा अभिमन्यू दिक्षितको लेखन, रेनशा वान्तवा राई र प्रज्वलको कथा र शैलेन्द्रध्वज कार्कीको छायांकन रहनेछ ।
फिल्मलाई लामो समय देखि नेपाली फिल्मको कोरियोग्राफी गर्दै आएकी रेनेशा वान्तवा राइले निर्माण गर्नेछन् । पत्रकार सम्मेलनमा उपस्थित रेनेशाले यस फिल्म मार्फत नेपाली फिल्ममा परिवर्तन ल्याउने आफ्नोे अठोट रहेको बताईन् । फिल्मको सह निर्माताको रुपमा बसन्त तामाङ, सुलेखा राई र सुस्मिता जिरेल रहेका छन् ।

LIVE TV