२९ बैशाख २०७४, शुक्रबार

काठमाडौं । वैशाख ३१ को स्थानीय तह निर्वाचनका लागि निर्वाचनले आयोगले गर्नुपर्ने तयारीलाई अन्तिम रुप दिने कार्यलाई तीब्र पारेको छ । निर्वाचनका लागि खटाइएका निर्वाचन अधिकृत र कर्मचारीहरु मतदान स्थल र मतदान केन्द्रको तयारीलाई अन्तिम रुप दिन व्यस्त छन् । मतदान केन्द्रमा कुनै पनि कमी कमजोरी हुन नदिन उनीहरु सतर्क देखिएका छन् ।

निर्वाचनले मुलुकलाई छपक्कै छोपेको छ । जनतामा देखिएको उत्साहले आकाश चुमुला झै गर्दैछ । निर्वाचन आयोग निर्वाचन सफल बनाउन कुनै कसर बाँकी नराख्ने गरी जुटेको छ । निर्वाचन आयोगबाट खटिएका सबै निर्वाचन अधिकृतहरु तोकिएको मतदान केन्द्रमा पुगेर मतदान स्थलको व्यवस्थापनमा जुटिसकेका छन् । परिचयपत्र वितरणसंगै मतदान केन्द्रमा सहज रुपमा मतदान गराउने वातावरण सिर्जना गने काम भईरहेको छ ।
आयोगले मतदाता परिचय वितरणसँगै मतदाता शिक्षाका लागि सम्बन्धित मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ताको समेत व्यवस्था गरिसकेको छ । निर्वाचन कार्यकर्ताहरुले मतदाताका घरघरमा पुगी निर्वाचन सामग्री वितरण , मतदान शिक्षा र सचेतना अभियान संचालन गरिरहेका छन् ।
आयोगले मतदाता परिचय वितरणको काम शनिवार सम्म मात्र गर्नेछ । शनिवार सम्म सबै नागरिकले मतदाता परिचय पत्र लिईसक्न समेत आयोगले जानकारी दिएको छ । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेश अन्तरगतको २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले बैशाख ३१ गते विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने पनि जानकारी गराइसकेको छ । मतदान सम्पन्न हुनेवित्तिकै मत गणना गर्ने जिम्मेवारी सम्बन्धित मतदान अधिकृतलाई दिइएको निर्वाचन आयोगले जनाएको छ । दुई दशक पछि जुरेको शुभसाइतलाई सफल पार्न निर्वाचन आयोग मात्र नभई सरोकारवाला संस्थासंगै आम जनता पनि जिम्मेवार देखिएका छन् ।

LIVE TV