२९ बैशाख २०७४, शुक्रबार

एजेन्सी । मानिसको शरीरमा तीन प्रकारका जुम्रा पर्छन् । कपाल, जिउ र गुप्तांगमा फरक–फरक प्रकारका जुम्रा पर्छन् । जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ । जुम्रा पर्ने समस्या र त्यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञ सविना भट्टराईका सुझाब यस्ता छन् :

बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेषगरी कन्पारा, गर्दनको साइडमा असर पुर्‍याउन सक्छ । जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुनसक्छ । यसले कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ । केटीहरूको कपाल लामो हुने भएकाले जुम्रा धेरै पर्छ ।

लिखा कपालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ । कपालको जरातिर लिखा आएको छ भने पुरानो संक्रमण भएको बुझ्नुपर्छ । यसले छालालाई बढी असर पुर्‍याउन सक्छ ।

कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ । हप्तामा एकपटक औषधि लगाउँदा जुम्रा मासिन्छ । तर, कपाल सुख्खा बनाएर मात्रै औषधि लगाउनुपर्छ । औषधि लगाएर आधा घन्टा सुकाएपछि मात्रै नुहाउनुपर्छ ।

जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ । त्यसैले जुम्राको उपचार परिवारका सबै सदस्यले एकैपटक गर्नु राम्रो हुन्छ ।

औषधिको प्रयोगले जुम्रा नष्ट भए पनि लिखा भने नुहाएर जाँदैन । त्यसैले बाँसको काँइयो या हातकै माध्यमले फाल्नुपर्छ ।

जिउमा चाहिँ नियमित रूपमा लामो समय एउटै कपडा प्रयोग गर्दा जुम्रा पर्न सक्छ । लुगाभन्दा बाहिर जुम्रा नबस्ने भएकाले संक्रमितले लगाएको लुगा नै फेर्नु उपयुक्त मानिन्छ । नयाँ पत्रिका

LIVE TV