२९ बैशाख २०७४, शुक्रबार

डोटी । भारी बर्षाले बाढी आउँदा गाउँनै विस्तापित भएको छ। डोटीको शिखर नगरपालिका- ८ तिलतालीमा रहेको बण्डा खोलामा आएको बाढी गाउँमा पस्दा गाउँलेको बिचल्ली भएको हो।

बुधबार साँझ आएको बाढीले खोलाको धार नै परिबर्तन गरेपछि बाढी गाउँमा पसेको स्थानीयले बताएका छन्। बाढीले ६५ घर परिवार प्रभावित भएका छन् भने १५ वटा घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। बाढीले सो क्षेत्रमा पर्ने केआई सिंह राजमार्गको समेत ठाउँ-ठाउँमा क्षति पुर्‍याएको छ।

विस्थापित सबैको उद्धार गरिएको छ। स्थानीय प्रशासन, प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाइटीको टोली, स्थानीयवासी, संचारकर्मीलगायतको ठूलो जनशक्तिले बाढी पीडितको उद्धार गरेको थियो।

विस्थापित सबैलाई सामुदायिक भवनमा राखिएको छ। नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले बाढीबाट प्रभावित परिवारलाई तत्काल बस्नका लागि त्रिपाल, कम्मललगायत सामग्री वितरण गरेको छ। म्यादी प्रहरी लगायत अन्य प्रहरी परिचालित हुँदा बाढी पीडितको समयमै उद्धार गरिएको थियो। अन्नपूर्णपोष्ट बाट

LIVE TV