
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनतर्फ लाग्न राजनीतिक दललाई सुझाव दिएकी छिन् । शुक्रबारदेखि प्रारम्भ हुन लागेको आफ्नो श्रीलंका भ्रमणबारे परामर्शक्रममा राष्ट्रपतिले बिहीबार शीतलनिवासमा प्रमुख राजनीतिक दलका नेताहरूलाई छिटोभन्दा छिटो गत्यावरोध अन्त्य गर्न सुझाएकि हुन् ।
राजनीतिक गत्यावरोध मुलुकका लागि अभिशाप भएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले मिलेर अघि बढ्न दलहरूलाई आग्रह गरिन । ‘अहिलेको अवस्थामा मिलेर जानुको विकल्प छैन । राष्ट्र र जनताको जिम्मेवारीप्रति तपाईंहरूको कर्तव्य पनि छु, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधानमा उल्लेख भएअनुसार तीनै तहको निर्वाचन समयमै सम्पन्न गर्न दलहरूबीच सहमति र सहकार्यको निरन्तरता अपरिहार्य छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल निकै गम्भीर रूपमा प्रस्तुत भएका थिए । मुलुकको समस्या समाधान गर्न भगीरथ प्रयास गरिरहेको उनले बताए । ‘मुलुक जटिल र संकटपूर्ण अवस्थातर्फ गइरहेको छ । समस्या समाधानको एउटा महत्ववपूर्ण कामका रूपमा मैले स्थानीय निर्वाचनलाई लिएको छुु, उनले भने, ‘निर्वाचनमा असन्तुष्ट पक्षलाई समेट्न भगीरथ प्रयास गरिरहेको छु । त्यसैक्रममा संविधान संशोधन प्रस्तावलाई उच्च प्राथमिकता दिएको छु ।
स्रोतका अनुसार आगामी जेठ ४ गते बस्ने व्यवस्थापिका संसद्को बैठकमार्फत संविधान संशोधन विधेयक अनुमोदन गर्न गृहकार्य गरिरहेको प्रधानमन्त्रीले बताएका थिए । दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन हुने विश्वास उनले व्यक्त गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले आफ्नो दल मिलेर जान तयार रहेको बताएका थिए । ‘मुलुकको संकटलाई निकास दिन एमाले संविधान संशोधन गरेर जान पनि तयार छु, उनले भने। नेम्बाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेले संविधान संशोधनमा लचकता अपनाउँछ तर संशोधन किन र केका लागि भन्ने आमजनताबीच स्पष्ट गराउने दायित्व सरकारले लिनुपर्छ ।
राष्ट्रपति भण्डारीले आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल गर्न दलका नेताहरूलाई बोलाएकि थिईन । भण्डारीले भ्रमणबारे दलका शीर्ष नेतालाई जानकारी गराएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।
बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार सहभागी थिए ।
संशोधनलाई बेवास्ता नगरियोस् : मोर्चा
फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको चुनावअघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनुपर्ने बताएका छन् । मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको अधिकार सम्बोधनका लागि भन्दै यादवले मतदाता नामावली थप्न समय दिनुपर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकैपटक हुनुपर्नेलगायत सातबुँदे प्रस्तावसमेत बैठकमा राखेका थिए ।
चुनावमा सेना परिचालन गर्न नहुने, मधेस आन्दोलनमा पक्राउ परेका नेता र कार्यकर्ताको रिहाइ एवं मुद्दा खारेज हुनुपर्ने, मधेसमा गाउँपालिका-नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा वृद्धि गर्नुपर्ने र स्थानीय चुनावपछि मात्र बजेट ल्याउनुपर्ने प्रस्ताव उनले राखेका हुन् । बैठकमा लिखित प्रस्ताव राख्दै यादवले भन्नुभयो, ‘संविधान संशोधनलाई बेवास्ता गरिए मधेसमा दोस्रो चरणको चुनाव सहज रूपमा सम्पन्न हुन सक्दैन ।विभेद र निषेधको राजनीति अन्त्य भएको सन्देशका रूपमा संविधान संशोधन हुनुपर्ने उनको माग छ । ‘तपाईं-हाम्रो नीति निर्णय कुनै क्षेत्र, वर्ग र समुदायका लागि निषेध नहोस्, उनले भने, ‘मधेस पनि यही देशको हिस्सा हो र मधेसीहरू यसै राष्ट्रका सच्चा नागरिक हुन् भन्ने हेक्का होस् ।