
काठमाडौं । निर्वाचनको समयमा मतदान केन्द्रमा आउने सक्ने स्वास्थ्य समस्यालाई लिएर न्यूज २४ ले समाचार प्रसारण गरेपछि स्वास्थ्य मन्त्रालयले गम्भीर पहलको थालनी गरेको छ । गर्मी महिनामा हुन लागेको निर्वाचनको दौरानमा मतदान स्थल र केन्द्रहरुमा हुन सक्ने सम्भावित स्वास्थ्य समस्याको विषयमा न्यूज २४ ले स्वयं स्वास्थ्य मन्त्री गगन थापाको नै ध्यानाकर्षण गराएको थियो ।
न्यूज २४ मा बुधबार समाचार प्रसारण भएपछि मतदान केन्द्रहरुमा हुन सक्ने सम्भावित परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशन बमोजिम निर्वाचन हुने ३४ जिल्लामा स्वास्थ्य प्रमुखलाई आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्षित गर्दै आकस्मिक सेवाका लागि तयार रहन परिपत्र गरिएको छ । मतदान हुने दिनसम्म चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि बिदा वा काजमा नबस्न पत्रमा उल्लेख छ ।
मतदानका समयमा मतदान केन्द्रमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, उपकरण, एम्बुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जनतामा निकै उत्साह देखिएको छ ।