
चितवन । चुनावी प्रचारप्रसारको अन्तिम दिन चितवनमा प्रमुख तीन दलले आफ्नो शक्ति प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो उम्मेद्वारलाई जिताउन आग्रह गर्दै गर्दा एमाले सभामा केपी शर्मा ओलीले माओवादी केन्द्रलाई काँग्रेसले नाम्लो हालेर बोकेको आरोप लगाएका छन् ।
भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेपछिको संयुक्त चुनावी सभाको आयोजना गरिएको हो । चुनावी सभालाई सम्बोधन गर्दै प्र्रधानमन्त्री पुष्पकमल दाहालले मेयरकी उम्मेद्वार रेणु दाहाल क्षमतावान र प्रभावशाली महिला नेता भएको बताए ।
रेणु आफ्नो पुत्री भएका कारण टिकट दिएको नभई पार्टीमा गरेका त्याग र बलिदानलाई आधार मानेर दलका नेता कार्यकर्ताको राय र सुझावका आधारमा टिकट दिईएको दाहालको जिकिर थियो ।
त्यस्तै, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले मनमा कुनै संकोच नराखिकन गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गरे । पोखरामा काँग्रसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको उनले स्पष्ट पारे ।
यस्तै चितवनमा अै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए । उनले भरतपुरमा कांग्रेस माओवादी गठवन्धन प्रधानमन्त्री दाहालकी छोरीलाई जिताउने योजना र देउवा प्रधानमन्त्री वन्ने मनस्थितिमा गठबन्धन गरिएको समेत आरोप लगाए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले माओवादी जनयुद्ध आफना सन्तानका लागि मात्र गरेको ओलीको आरोप छ । माओवादीले युद्धका नाममा युवाहरुको भविष्य र समय वर्वाद बनाएको भन्दै उहाँले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नवस्न आग्रह गरे ।