२८ बैशाख २०७४, बिहीबार

हेटौंडा। स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लाका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको गरी कुल २९५ मतदान केन्द्रमा आज बिहानदेखि मतदाता परिचयपत्र वितरण गरिएको छ ।

यहाँको सबै २९५ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कडा सुरक्षाका साथ निर्वाचन टोली आज बिहानसम्ममा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी जिल्लाको २९५ मतदान केन्द्रमा क्रमशः मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी जम्मा एक हजार ९०० कर्मचारी खटिइसकिएको सो कार्यालयका अधिकृत शेषराज दाहालले बताए ।

कार्यालयका अनुसार मकवानपुरको वाग्मती गाउँपालिकामा २३ वटा, वकैया गाउँपालिकामा २६ वटा, मकवानपुरगढी गाउँपालिकामा २० वटा, मनहरी गाउँपालिकामा २३ वटा, राक्सिराङ गाउँपालिकामा २१ वटा, कैलाश गाउँपालिकामा १९ वटा, इन्द्रसरोवर गाउँपालिकामा १४ वटा र भीमफेदी गाउँपालिकामा १९ वटा मतदान केन्द्र तोकिएका छन् ।

थाहा नगरपालिकामा ३७ वटा र हेटौँडा उपमहानगरपालिकामा ९३ वटा मतदान केन्द्र कायम छ । मकवानपुरमा जम्मा मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ छ ।

आठ गाउँपालिकातर्फ एक लाख १६ हजार ४९५ जना, थाहा नगरपालिकामा २७ हजार ६६७ जना र हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५९७ जना मतदाता रहेको सो कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनबाट मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा क्रमशः अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख, उपप्रमुखसहित २० जना र वडा अध्यक्ष, वडा सदस्य गरी ५१० जनासमेत जम्मा ५३० जना जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

मकवानपुरमा निर्वाचनका लागि कडा सुरक्षा तैनाथ

स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका सबै मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका ती मतदान केन्द्रमा क्रमशः एकीकृत रुपमा नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी र म्यादी प्रहरीहरु छुट्टाछुट्टै टोली तयार पारी मतदान केन्द्रलगायत वरिपरि एक किलोमिटरसम्म सुरक्षाको कडा निगरानी गरी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पत्र गर्न तयारी भइसकेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताएका छन् ।

यसैगरी हेटौँडा उपमहानगरपालिकालगायत थाहा नगरपालिका र विभित्र गाउँपालिकामा निर्वाचनको दिनमा सुरक्षाको मोबाइल टोली छुट्टाछुट्टै खटाइने भएको उनले जानकारी दिए ।

वैशाख २९ गते बेलुकादेखि जिल्लाकै २९५ मतदान केन्द्र र आसापासका क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरिएको छ ।

LIVE TV