२८ बैशाख २०७४, बिहीबार

काठमाण्डौ। दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ ।

नेपालमै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

नगरपालिकाको जोरपाटीमा नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताल, अपाङ्गता भएका बालबालिकाका लागि विशेष माध्यमिक विद्यालय रहेका छन् ।

“स्थानीय तहको निर्वाचन समावेशी हुनुपर्छ भनिए पनि समाजको महत्वपूर्ण अङ्ग अपाङ्गता भएका व्यक्तिलाई अपमान गरिएको छ, जोसुकै व्यक्ति अपाङ्ग हुनसक्छ, यसतर्फ सबै दलको ध्यान जानु जरुरी छ”– उनले भने।

सो अवसरमा मोबाइल बनाउने प्राविधिक सीप सिकेका पाँच जना अपाङ्गलाई मोबाइल मर्मत वर्कसप खोल्न आवश्यक सामग्री प्रदान गरियो । राजु धिताल, नरबहादुर मगर, हेमबहादुर भुजेल, निर्मला गौतम र योङ्जेन घ्लानलाई रु दुई लाख बराबरको मोबाइल सफ्टवेयर, मोबाइल टुल्स एन्ड पार्टस्लगायत सामग्री वितरण गरिएको थियो ।

सामग्री वितरण गर्न गोकर्णेश्वर नगरपालिका, गैरआवासीय नेपाली धर्मराज गिरी र चलचित्र निर्देशक अक्कलसिंहले आर्थिक सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।

यसैगरी दुवै गोडा नचली हिँडडुल गर्न नसक्ने फणीन्द्रबहादुर मगरलाई ह्विलचियर प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, दाताहरु गिरी र सिंहले अपाङ्गता भएका व्यक्तिलाई पनि नीतिनिर्माण तहमा पद आरक्षण गरिनुपर्नेमा जोड दिए ।

LIVE TV