२८ बैशाख २०७४, बिहीबार

एजेन्सी । हरेक व्यक्ति स्वस्थ जीवन जिउन चाहन्छ । स्वस्थ जीवन जिउनु सफल जीवनको एउटा पाटो हो । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण पद्धति हो, उपवास चिकित्सा ।

उपवास चिकित्सा सामान्तया छोटो, मध्यम र लामो गरी तीन प्रकारमा विभाजन गरिएको छ । लामो उपवास भन्नाले सातदेखि १५ दिन वा त्योभन्दा बढी दिन गरिने उपवास हो । मानिसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा उपवास कति बस्ने भन्ने भर पर्छ । वैदिक कालमा मानिस प्राकृतिक खानपान, उचित निद्रा, उचित व्यायामका कारण प्रायः स्वस्थ नै रहन्थे । यदि केही कमी कमजोरी आएमा उपवास चिकित्सा गरेर पूर्णतः स्वस्थ रहन्थे ।

उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । लामो उपवासमा बिस्तारै शरीरमा जम्मा भएका विकारहरू निष्कासन हुनुका साथै शरीर शुद्धीकरण हुन्छ र ऊर्जा प्राप्त हुन्छ । शरीरका विभिन्न अंग मिर्गौला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछन् । रगतमा हुने चिल्लो तथा अनावश्यक पदार्थ निष्कासन गर्न मद्दत गर्छ र रगत शुद्धीकरण भई शरीरमा अक्सिजनको मात्रा प्रशस्त हुन्छ ।

सामान्य रोगहरू छ भने पनि हराएर जान्छन् र पुनर्ताजगी पैदा हुन्छ । जसको कारण रोगसँग लड्न प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । लामो उपवास गर्नुअघि एक–दुईपटक छोटो तथा मध्यम उपवास गर्नु उपयुक्त हुन्छ । यसो गर्दा शारीरिक तथा मानसिक रूपले पूर्ण तयार हुँदा बढी लाभ पुग्छ ।

– विधि
उपवास बस्नुभन्दा अगाडि आफू १५ दिनको लामो उपवास बस्दै छु र यसबाट धेरै लाभ प्राप्त गर्नेछु भनी दृढ संकल्प गर्नुपर्छ ।

लामो उपवास बस्ने अघिल्लो रातबाट नै रसाहारमा रहने ।

लामो उपवासमा शुद्ध पानी र गाह्रो भएमा महपानीसमेत समय–समयमा आवश्यकताअनुसार दुई–तीन घन्टाको फरकमा पिउन सकिन्छ ।

उपवास समयमा बिहान शोधनको उपचार गर्ने, दिउँसो आराम गर्ने ।

उपवासको समयमा सामान्य हिँडडुल गर्न तथा पुस्तक अध्ययन गर्न सकिन्छ, तर बल पर्ने काम तथा अभ्यास नगर्ने ।

प्राकृतिक ठाउँहरू मौसमअनुसार बिहान, साँझ हिँडडुल गर्ने । प्राणायाम तथा ध्यान गर्ने ।

– फाइदा

उपवासबाट शरीरमा पुनर्ताजगी पैदा हुन्छ, जसका कारण शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।

पाचन प्रणाली सक्रिय बनाउनुका साथै उच्च रक्तचाप, मुटु बढी धड्कने समस्या निको पार्न मद्दत गर्छ ।

मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।

स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

फोक्सो, कलेजो तथा मिर्गौलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।

स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।

रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने कोलेस्ट्रोल कम गर्छ ।

छालाको कार्यक्षमता वृद्धि गर्नुका साथै छालालाई चम्किलो बनाउँछ ।

– सावधानी
प्राकृतिक चिकित्सको निगरानीमा मात्र गर्ने ।

कमजोरी महसुस भएमा प्राकृतिक चिकित्सकको परामर्शमा अमिलो नहुने जातका फलफूलको ताजा रस पिउन दिने ।

उपवासको १५ दिन पूरा गरेपछि तोड्दा फलफूलको शुद्ध ताजा जुस, फलफूल खाँदै बिस्तारै दालको रस, तरकारीको सुप पिउने । त्यसपछि जाउलो, दलियाजस्ता खाना खाँदै सात दिनपछि मात्र पूर्ण भोजनमा प्रवेश गर्ने ।

उपवास सुरु गरेपछि अमिलो पानी आउने छाती पोल्ने हुन सक्छ । त्यस्तो समय एनिमा, मनतातो कटिस्नानजस्ता शरीर शोधनका उपचार दिने ।

उपवास सुरु गरेको दिनमा कुजल पनि दिन सकिन्छ । जसको कारण पेट पोलेको ठीक हुन्छ ।

गर्भवती महिला, डाइबेटिजका बिरामी, निम्न रक्तचाप भएकाहरू र कमजोरीपन हुनेले उपवास गर्नु हुँदैन । नयाँ पत्रिका बाट

LIVE TV