२७ बैशाख २०७४, बुधबार
  • सबिता उप्रेती,

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारसँगै आर्थिक गतिविधि पनि ह्वात्तै बढेको छ । तर, सुन बजारलाई भने स्थानीय तह निर्वाचनले प्रत्यक्ष असर पारेको देखिन्छ । विवाहको सिजन भएपनि सुनको कारोबारमा मन्दी छाएको छ । गत वर्षको तुलनामा यसपाली बैशाखमा सुनको कारोबार ६० प्रतिशतले घटेको छ । ठूलो हिस्सामा नेपालीहरु स्थानीय निर्वाचनमा व्यस्त बन्दा पनि यो अवस्था आएको सुन व्यवसायीहरुको धारणा छ ।

नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुने गरेको छ । तर यसपाली विवाहको सिजन बैशाखमा नै सुनको कारोबार सुस्त भएको छ । बैशाख ३१ गते स्थानीय निकायको चुनावको तयारीमा जुटेकाले सुन बजार प्रभावित भएको छ ।
सधै बैशाखमा विवाह व्रतबन्धमा व्यस्त हुने नेपालीहरु यसपाली स्थानीय निकायको चुनावको तयारीमा व्यस्त रहेको सुन व्यापारीहरुले जनाएका छन् । सिगो देश नै स्थानीय निकायको चुनावमा व्यस्त हुँदा विवाहको लगनमा पनि सुन बजार सुस्त आएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
विवाहको सिजनमा विगतका वर्षहरुमा दैनिक ५० किलोसम्म सुनको माग भएकोमा यसपाली २० किलो सुनको मात्र माग भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
बैशाख महिनाको सुरुवातदेखि सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । आर्थिक क्षेत्रका अन्य लगानीका क्षेत्रमा सुधार आइरहेका कारणले सुनको भाउ सस्तिएको अनुमान गरिएको छ । शेयर बजार लगायत अन्य क्षेत्रमा लगानी असुरक्षित हुने स्थितिमा लगानीकर्ताले लगानी जोगाउन सुनमा लगानी गर्दछन् ।
चुनावको प्रचारप्रसारका सामग्रीको छपाइ, साउन्ड सिस्टम, इन्धन, फूलमालादेखि चुनाव चिह्नका लागि कपडा र सिलाइ क्षेत्रमा चहलपहल बढे पनि सुनबजार भने निर्वाचनकै कारण सुस्ताएको छ ।

 

LIVE TV