२७ बैशाख २०७४, बुधबार
  • विनय तिम्सीना,

इलाम । इलाम जिल्लाका बिभिन्न स्थानमा साप्ताहिकरुपमा हाटबजार लाग्ने चलन पुरानो हो । हप्ता भरी चाहिने आवश्यक घरायाशी सामग्री खरिद गर्न र आप्mनो बारीमा फलेका तरकारी लगायत फलफुल बेच्नका लागि यस्ता बजार उत्तम थलो बन्ने गर्दै आएको छ । त्यसमाथि पनि मुख्य नाकामा परापूर्वकाल देखि लाग्ने ठूला बजारहरुको आफ्नै महत्व थियो । तर अब यस्ता बजारहरुको अस्तित्व नामेट बन्दै गएको छ ।

इलामको नामसालिङमा रहेको शुक्रबारे बजार त्यसको जलन्त उदहारण बनेको छ । २०१३ सालमा नै सवारी साधन गुडेको नामसालिङ बजारमा अहिले पनि इलाम सदरमुकामबाट मुस्किल सवारी साधनहरु पुग्ने गरेका छन् ।
स्थानीयवासी कुलप्रसाद नेपालका अनुसार पहिला भारतको सिमाना मानेभञ्ज्याङबाट आएको सामान पहिला शुक्रबारे बजारमा आउँथ्यो । त्यहाँबाट इलामको इलामबजार, मंगलबारे बजार, पाँचथरको फिदिम बजार र ताप्लेजुङ सम्म शुक्रबारेको सामान जाने गरेको थियो । तर विडम्बना २००६ साल देखिनै शिक्षाको उज्यालो ज्योति पाएको यही शुक्रबारे बजारले अहिले सम्म पनि विकासको मुख देख्न पाएको छैन ।
शुक्रबारेका स्थानीय यम वहादुर काजीका अनुसार पहिला यो वजार धेरै ठूलो लाग्थ्यो । गाउँगाउँबाट सामान आउने गरेको खच्चरहरुमा सामान ओसारेको अझै उनी झलझली सम्झन्छन् । शुक्रबारे बजार प्राकृतिक रुपमा पनि सुन्दर र सम्पूर्ण सुविधा पु¥याउनकोलागि सहज बजार पनि मानिन्छ । परापूर्वकाल देखि बजार लाग्दै आएको यो बजारमा वस्ने मानिहरु नेपाल सरकारका ठूला ठूला पदमा पुगे पनि यो बजारलाई नहेरेको गुनासो स्थानीय युवराज घिमिरेको छ ।
पुर्खादेखि नै व्यापार गरेर वसेका वेदप्रकाश अग्रवालका अहिले पहिला जस्तो व्यापार व्यवसाय पनि नचलेको र इलाम सदमुकामदेखि ताप्लेजुङसम्म मेची राजमार्ग हुँदै यता नआई सामान सोझै जाने गरेकोले पनि शुक्रबारे वजारको अस्तित्व संकटमा पर्दै गएको बताउँछन् ।
सरकारले बजारमा यातायात, खानेपानी, सञ्चार, सुरक्षा जस्ता कुरामा ध्यान नदिएको कारणले पनि यो वजार सुक्दै गएको हो । सरकारी चासो कम भए पनि सुरक्षाको कारण देखाउँदै स्थानीय सुरक्षाको लागि स्थापना गरेको प्रहरी चौकी पनि अहिले हटेको छ । यसरीनै वेवास्था गर्दै जाने हो भने गाउँ गाउँमा लाग्ने गरेका हटियाहरु लोप हुँदै जाने अवस्था छ ।

 

LIVE TV