२७ बैशाख २०७४, बुधबार
  • प्रदीप दाहाल,

काठमाडौं । रेल गुडने भयो काठमाडौंमा । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वारहरुको मुख्य एजेण्डा नै मेट्रो रेल र मोनो रेल बनिरहदा मतदाता पनि मख्ख बनेका छन् रेल चढन पाइयो भनेर । हुनत काठमाडौंको भृकुटीमण्डप भित्र अहिलेदेखि नभई उहिलेदेखि नै रेल गुडेको गुडेकै छ । त्यही रेलको अनुभव लिएकाहरु अब मिनेट भरमा नै गन्तव्यमा पुगिने भइयो भनेर दङ्ग छन् । तर यथार्थ तीतो छ । यो यथार्थ न उम्मेद्वारलाई थाहा छ नत मतदातालाई नै ।

सधैँ कोचाकोच भएर झण्झट र दिक्कलाग्दो यात्रा गर्न बाध्य छन् काठमाडौंवासी । यस्तो अवस्थामा रेलमा चढेर आनन्दको यात्रा गर्न पाउनु जोकोहीका लागि पनि मीठो सपना र कल्पना हुन्छ नै । काठमाडौंवासीको त्यही संवेदनासंग खेल्न माहिर देखिएका छन् काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी र दलहरु ।

संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा ल्याएको घोषणापत्रमा अबको १० वर्षमा पाँच सय किलोमिटर रेल्वे लाइन निर्माण गर्ने योजना समेटेको छ । यता अर्को ठूलो दल नेकपा एमालेले पनि रेल कुदाउने योजनालाई महत्वका साथ घोषणापत्रमा समेटेको छ ।

 

एमालेले घोषणापत्रको २३ नम्बर बुँदाका आधारमा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग सम्पन्न गरिने जनाएको छ । यता रेल कुदाउने सपना घोषणापत्रमा मात्र सीमित नभएर यथार्थलाई बुझेर स्पष्ट कार्ययोजना ल्याउन सकेमात्र विश्वसनीय हुने काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको भनाई छ ।

विश्वका हरेक शहरमा रेल नै यातायातको प्रमुख माध्यम बनेका छन् । विकासको मापदण्डको मापनको उच्चविन्दु पनि हो रेल । तर सार्वजनिक सवारी साधनमा जनताको विश्वास जितिरहेको साझाले भक्तपुरसम्म पुग्न पाउदैन । यस्तो अवस्थामा रेलको सपना बाँडनु दलहरुको गफको विषय मात्र बन्ने होइन प्रश्न जायज मानिन सक्छ । हुन पनि हालसम्म न रेल कुदाउने पूर्वाधार तयार गरिएको छ न त स्पष्ट कार्ययोजना नै बनेको छ ।

 

LIVE TV