२७ बैशाख २०७४, बुधबार

काठमाडौं । नेपालसंग विशेष सानिध्य राख्ने एक हितैषी दक्षिण कोरियाको राष्ट्रपति बनेका छन् । नेपालको दुःखसुखमा साथ दिने मात्र नभई आफुलाई फ्रेस बनाउन पनि नेपाल नै रोज्ने मुन जेई इन दक्षिण कोरियाको सत्रौ राष्ट्रपति बनेका हुन । नेपाललाई नजिकबाट चिनेका र जानेका व्यक्ति कोरियाको राष्ट्रपति बनेकोमा धेरै नेपालीले यस्लाई सुखीको खबरको रुपमा लिएका छन् ।

मानवअधिकार अधिवक्ता ६४ वर्षीय मुन नेपाल र नेपालीमाझ पनिपरिचित व्यक्ति हुन् । खासगरी, गत वर्ष जुनमा नेपाल भ्रमणमा आउँदा मुलुकवासीको माया मात्रै उनले बटुलेनन्, आफ्नो नेपालीप्रतिको गहिरो छाप छोड्न पनि सफल भए ।
नेपाल बसाइका क्रममा मुलुकका बिभिन्न पुगेर नेपालीहरुसंगै धुलोमा खेल्दै उकाली ओरालीको स्वाद चाखेका उनको विजय यात्राले नेपालीमाझ पनि खुशीको स्ञ्चार गराएको छ । राजनीतिक खिचातानीबाट विश्राम लिन भन्दै निजी भ्रमणका सिलसिलामा नेपाल आएका उनले यहाँ करिब दुई साता विताएका थिए ।
नेपाल बसाईका क्रममा ट्रेकिङका लागि भूकम्प प्रभावित लाङटाङ क्षेत्र पुगेका उनले नुवाकोटको बेलकोट गाविसस्थित आरुखर्क माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालालाई आवश्यक सामग्री हस्तान्तरण गरेका थिए । १४ दिनसम्म निरन्तर उनीसँगै रहेका यहाँका व्यवसायी र सर्वसाधारणले मुनलाई अत्यन्तै सरल र मिलनसार व्यक्तिकारु लिने गरेका छन् । दुइ साता लामो बसाईमा उनले एघार दिन गाउँघरमै विताएका थिए ।
मुनका केही तस्बिर र भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि भ्रमणबारे बेखबर कोरियाली संचारमाध्यमहरुमा उनको नेपाल भ्रमणबारे त्यतिवेला चर्चा चुलिएको थियो । यसअघि २००८ मा नेपाल भ्रमण गर्दा समेत मुन ट्रेकिङका लागि पुन हिल पुगेका थिए । नेपाल भ्रमणमा रहँदा कोरियामा विभिन्न पेशामा संलग्न करिब ४० हजार नेपालीको बारेमा पनि उनले चासो व्यक्त गरेका थिए ।

नेपाल र नेपालीप्रति निकटको सम्बन्ध र चासो राख्ने यिनै व्यक्ति दक्षिण कोरियाको राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेका छन् । डेमोक्रेटिक पार्टीका उम्मेद्वार मुनले ४१ दशमलव १ प्रतिशत मत ल्याएका हुन् ।
मुन उत्तर कोरियाबाट आएका एक जना शरणार्थीका छोरा हुन् । पटक पटक नेपाल आएका तथा नेपाल प्रति निक्कै चासो लिने मून अहिले कोरिया जस्तो विकसित देशको राष्ट्रपति बन्दा उनको पाँच वर्षे कार्यकालमा नेपालले कोरियाबाट थुप्रै सहयोग र अनुदान लिन सक्ने विश्लेषकहरु बताउछन् ।

 

LIVE TV