२७ बैशाख २०७४, बुधबार
  • राजु पौडेल,

झापा । स्थानीय तहको निर्वाचनको माहोल चुलिएका बेला झापामा एक विद्यालयले क्याप्टेन चुन्नका लागि स्थानीय तहको निर्वाचनको झल्को दिने गरि निर्वाचन गरेको छ । दमकस्थित झापा मोडल माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन बारे जानकारी दिन मंगलबार उक्त चुनावको आयोजना गरेको हो ।

विद्यार्थीलाई किताबी ज्ञान भन्दा निर्वाचनको प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले उक्त मतदान आयोजना गरिएको विद्यालयले जनाएको छ । निर्वाचनकै शैलीमा उक्त निर्वाचनमा निर्वाचन अधिकृत समेत तोकिएको थियो ।

यस्तै, विद्यार्थीलाई मत खसाल्न मत पेटिका समेत निर्माण गरिएको थियो । मतदानमा कक्षा ४ देखि १० सम्मका ३ सय ५० विद्यार्थीहरुले भाग लिएको विद्यालयका संयोजक प्रेम सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीलाई सानै उमेर देखि मतदानको प्रक्रिया र मतदान शिक्षाका बारेमा जानकारी दिन उक्त मतदान प्रक्रिया आयोजना गरिएको सुवेदीले बताए ।

निर्वाचनमा विद्यार्थीले सिकेको सौद्धान्तिक ज्ञानलाई व्यवहारिकरुपमा बदल्न मदत पुगोस भनेर सुरक्षाका रुपमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीको रुपमा विद्यार्थीलाई नै खटाईएको थियो । विद्यार्थीले पनि यस्तो मतदान प्रक्रियाबाट धेरै सिक्न पाएको बताएका छन् ।

विद्यार्थीहरुले मतदान गरेर विद्यालयको क्याप्टेन एक छात्र र एक छात्रा त्यस्तै सहायक क्याप्टेन पनि एक छात्र र एक छात्रा गरेर ४ जना चुन्ने विद्यालयले जनाएको छ । उक्त ४ पदका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।

 

LIVE TV