
राजविराज । सप्तरीको सुरुङगा नगरपालिका– ४ स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका– ८ बस्ने ३० वर्षीय राजेश चौधरी रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कडोरवना इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ५२९० नम्बरको ट्याक्टरमा सोही दिसातर्फ आउँदै गरेको स– ८ प ३२३० नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडि डालामा ठोकिएपछि दुर्घटना भएको थियो ।
सो घटनामा ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता सप्तरीकै कृष्णराम गाउँपालिका– १ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
मोटरसाइकल चालक सप्तरीको कञ्चरुप नगरपालिका– ५ बस्ने बरुण महतो र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका विन्देश्वर यादव घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।