२७ बैशाख २०७४, बुधबार

काठमाडौं चुनाव नजिकिँदै जाँदा मंगलबार नेप्से परिसूचक हरियो भएको छ । नेप्से परिसूचक सोमबारको तुलनामा मंगलबार १३.५१ अंकले बढे पनि बजारमा ठूलो कारोबार भने हुन सकेन । चुनावी सरगर्मी बढ्दै जाँदा दैनिक डेढ अर्बको कारोबार ६२ करोड १४ लाखमा खुम्चिए पनि नेप्से परिसूचक भने सबै हरियो भएको नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौड्यालले बताउनुभयो । मंगलबार कारोबार भएको रकम सोमबारको तुलनामा १० करोड रुपैयाँले बढी हो ।


लगानीकर्ताको ध्यान चुनावतिर मोडिएको छ । उहाँहरू चुनावपछि बजार बढ्ने आँकलनमा आफूले किनेको सेयर बिक्री गर्न चाहिँ तयार छैनन् अर्थात लगानीकर्ताभन्दा पनि बिक्रीकर्ताको चाप कम छ । ‘बजारमा लगानीकर्ता तथा बिक्रेताको संख्या कमी आएको छु, उहाँले भन्नुभयो, ‘लगानीकर्ताको ध्यान चुनावतिर मोडिएको छ । चुनावपछि खुल्ने बजार अझ उचाइमा पुग्ने विश्वासका साथ लगानीकर्ता अडिएका छन् । अन्य लामो बिदाको समयमा पनि यसरी नै लगानीकर्ताले बजारलाई यसरीनै अडान दिइरहेका हुन्छन् ।
नेप्से सोमबार एक हजार ६ सय ५० दशमलव ८१ बिन्दुमा पुगेर बन्द भएको हो । मंगलबारको कारोबारमा धरै उचार चढाव नआए पनि बजार भने शून्य दशमलव ८३ प्रतिशतले उकालो लागेको हो । मंगलबारको बजार सकारात्मक तिर लाग्नुमा जलविद्युत् कम्पनीले टेवा पुर्‍याएको छ । जलविद्युत् समूहको परिसूचक उच्च प्रतिशतले बढेको छ । मंगलबार कारोबारबाट यो समूहको नेप्से ५.८८ प्रतिशतले वृद्धि भएको छ । धेरै जसो जलविद्युत् समूहका कम्पनीको हकप्रद ९ राइट सेयर आउने गणनासहित लगानीकर्ता यो समूहप्रति आकर्षित भएका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जलविद्युत् समूहको परिसूचक उच्च प्रतिशतले बढेको छ । मंगलबार कारोबारबाट यो समूहको नेप्से ५.८८ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार सानिमामाई हाइड्रोपावर कम्पनीको चार करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर एक हजार दुई सय ३९ पुगेको छ । कम्पनीले प्रस्ताव गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर नेपाल धितोपत्र बोर्डले यही वैशाख १४ गते प्रक्रिया अघि बढाएको सन्देशसहित बजारमा सानिमामाईको सेयर मूल्य र कारोबार दुवै बढेको हो ।

अपि पावर कम्पनीको सेयर मूल्य ८ दशमलव ८१ प्रतिशतले बढेको छ । यस कम्पनीको १ बराबर २ अनुपातको हकप्रद सेयरलाई सेबोनले स्वीकृति दिएको छ । साथै, बुटवल पावर कम्पनी, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र अरुण काबेली पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतदेखि ८ दशमलव ४६ प्रतिशतसम्म वृद्धि भएको छ । अरुण काबेली हाइड्रोपावरको एफपीओ आउने हल्ला बजारमा फैलिए पनि आधिकारिक रूपमा भने यस खबरको पुष्टि भने भइसकेको छैन ।
यस दिन सबैभन्दा बढी अपि पावर कम्पनी र बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् सिनर्जी फाइनान्सका सेयरधनीले सबैभन्दा बढी करिब चार प्रतिशत गुमाएका छन् । कारोबार रकमकै आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो भएको छ । प्राइमको दुई करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसैगरी, विकास बैंक समूहको परिसूचक १ दशमलव २८ प्रतिशत र होटेल समूहको १ प्रतिशत बढेको छ । साथै, बिमा समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ५८ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४७ प्रतिशत र ‘अन्यु समूहको शून्य दशमलव २१ प्रतिशत बढेको हो ।
मंगलबार एक सय ४२ कम्पनीमध्ये एक सय दुई कम्पनीको कारोबार मूल्य बढेको २७ कम्पनीको सेयर मूल्य घटेको र १३ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारबाट १९ खर्ब १६ अर्बको बजार पुँजीकरण भएको छ ।

LIVE TV