२७ बैशाख २०७४, बुधबार

काठमाण्डौ । किराती समुदायको महान् चाड ‘उभौली’ आज (बुधबार)देखि सुरु भएको छ । वैशाखे पूर्णिमादेखि चाड सुरु भएपछि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाउने गर्छन् ।

दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषाले सम्बोधन गर्छन् । पूर्वी पहाडी भेगतिर सघन बसोवास भएका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आफूलाई किरातीका रूपमा मान्दै आएका छन् । जसअनुसार यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन् ।

उपत्यकाको ललितपुर, काठमाडौँ र भक्तपुरमा पनि सामूहिक रूपमा भेला भएर किरातीहरूले साकेला नाच्दै चाड मनाउँदै आएका छन् । चाड सुरु भएको दिन ललितपुरको हात्तीवनमा रहेको सामूहिक माङखिम ९मन्दिर०मा पूजा गरेपछि साकेला सुरु गरिन्छ । किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन् । वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेँसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिइन्छ ।
मुख्यतः कृषि प्रणालीमा आधारित भएर जीवनयापन गरिरहेका किरातीबीच यही यामलाई आधार मानेर खेती लगाउने तथा खेतीपाती सप्रियोस् भनेर पूर्वजसँग आशीर्वाद माग्ने गरिन्छ । आफ्नो सघन बसोवास भएको क्षेत्रतिर वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ ।

यसैबीच, यो चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किरात धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन । मङ्गलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उनीहरूले शुभकामना दिएका हुन ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा ‘सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किरातहरूको उभौली पर्वले ‘नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने’ उल्लेख गरिएको छ ।

उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण देशवासीलाई शुभकाना दिँदै यस समयमै स्थानीय निकायको सफलताका लागिसमेत कामना गरिएको छ ।

LIVE TV