२६ बैशाख २०७४, मंगलवार

चितवन । विष्फोटक पदार्थ सहित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्ज सहित २२ जना चितवनमा पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएर लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २२ जना नेता तथा कार्यकर्तालाई बिभिन्न मितिमा पक्राउ गरि मुद्धा दर्ता गरिएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मंगलबार बिहान केही बिस्फोटक पदार्थ सहित व्यूरो इन्चार्ज एवं सैन्य दस्ताको कमान्डर पुरन राई र चितवन १० नम्वर ईलाका सदस्य शंकर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिक बट्टामा रहेको बिस्फोटक पदार्थ , खोल सहितको नक्कली रिभल्भर १ थान, डेटोनेटर दुई थान, चन्दा रसिद प्याड, फलामको तारको टुक्राहरु र उनीहरुले प्रयोग गरेको मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो पार्टीका केन्द्रिय सदस्य एवं अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्णवहादुर परियार, केन्द्रीय सदस्य अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु कोईराला लगायतका नेता कार्यकर्ता पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरु मध्ये ९ जना नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
एक साता अघिबाट निर्वाचन विरोधि गतिविधिमा सो पार्टी सकृय भए संगै प्रहरीले नियन्त्रण कार्यलाई तीव्रता दिएको छ ।सो पार्टीले ठाउँ ठाउँमा पेट्रोलवम प्रहार गर्न थालेपछि जिल्लामा उच्च सतर्कता अपनाईएको छ ।

जिल्लाका संवेदनशील स्थलहरु र शहरी क्षेत्रमा चोकचोकमा प्रहरी तैनाथी वढाईएको छ । उपरीक्षक थापाका अनुसार ३ हजार २ सय जनपथ प्रहरी र एकहजार दुई सय ५५ म्यादी प्रहरी परीचालन गरिएको छ । यसैबीच नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बीसीले आफना नेता कार्यक्रतालाई घरबाटै उठाएर प्रहरीले ज्यादति गरेको आरोप लगाए ।

 

LIVE TV