लण्डन क्लब चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा चेल्सीले मिडिल्सबर्गलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँग ७ अंकको अग्रता लिएको हो । चेल्सीलाई जित दिलाउन डियगो कोस्टाले २३ औँ मिनेटमा, एलोन्सोले ३४ औँ मिनेटमा र माटिकले ६५ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै चेल्सी घरेलु मैदानमा ३ सय खेल जित्ने तेस्रो टिम बनेको छ ।
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले ३ सय ४७ र आर्सनलले ३ सय ६ खेल जितेको छ । हार पछि मिडिल्सबर्ग भने रेलिगेसनमा पर्ने पक्का भएको छ । यसअघि सण्डरल्याण्ड पनि दोस्रो श्रेणीमा झरिसकेको थियो ।
रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्न बाँकी छ । लिगको तीन खेल बाँकी छँदा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । दोस्रो स्थानको टोटनहामको ७७ अंक छ । अगामी शुक्रबार राति वेष्ट ब्रोमलाई हराएमा चेल्सीले प्रिमियर लिगको उपाधि जित्नेछ ।