२५ बैशाख २०७४, सोमबार

एजेन्सी । पहिरनले झल्काउछ तपाईको व्यक्तित्व त्यसैले ठाउँ अनुसारको ड्रेसअप गर्नु उपयुक्त मानिन्छ । कुनै पनि स्थानमा जानुअघि विशेषगरी महिलालाई कस्तो ड्रेसअप गर्ने भन्ने चिन्ताले सताउँछ । आफ्नो दराजमा प्रशस्तै फरक–फरक मोडेलका पहिरन भएमा झन् कुन छनोट गर्ने भन्ने विषयमा समस्या हुन्छ । आफू संलग्न हुन लागेको कार्यक्रम कहाँ हुँदै छ र कार्यक्रमको प्रकृति कस्तो हो, ड्रेसअप गर्नुअघि जान्नु आवश्यक हुन्छ । अन्यथा, कार्यक्रमको प्रकृतिअनुसार ड्रेसअप अमिल्दो भएमा निकै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । आफू जाने कार्यक्रम तथा स्थानअनुसार कस्तो ड्रेसअप गर्ने भन्ने विषयमा फेसन डिजाइनर टंका दाहालका सुझाब यस्ता छन् :

सामान्य जमघट तथा घरायसी पार्टीहरूमा जानुपर्दा भलाद्मी खालको ड्रेसअप ठीक हुन्छ । यस्तो कार्यक्रममा सामान्यतया दैनिक लगाइने कुर्ता–सलवार, प्लाजो, सारी तथा पाइन्ट, टिसर्ट लगाउँदा हुन्छ ।

प्लाजो लगाउने व्यक्तिले भने हिल स्यान्डल प्रयोग गर्नु राम्रो देखिन्छ । लामो दूरीमा पैदल नै यात्रा गर्नुपर्ने छ भने हिल स्यान्डल नलगाउनु नै उत्तम हुन्छ । त्यस्तो समयमा प्लाजोभन्दा लेगिन्स लगाउनु सहज हुन्छ ।

होटेल तथा बैंक्वेटमा आयोजना गरिएको पार्टीमा जानु छ भने सारी, गाउन, लेहेंगा, वानपिस लगाउँदा स्मार्ट देखिन्छ । यस्तो स्थानमा विशिष्ट व्यक्तिहरूको पनि सहभागिता हुने भएकाले आफूलाई पनि स्मार्ट देखाउन यस्तो पहिरनले सहयोग गर्छ । सारी, लेहेंगा तथा गाउनजस्ता पहिरनमा पनि हिल स्यान्डल नै लगाउँदा आकर्षक देखिन्छ । त्यस्तै, स्यान्डलको कलर कम्बिनेसन मिल्ने गरी ब्याग वा पर्स बोक्दा झन् आकर्षक देखाउँछ ।

यो समयमा विवाह मात्र नभएर व्रतबन्ध, एनिभर्सरी तथा अन्य विभिन्न धार्मिक कार्यक्रम पनि हुने गर्छ । यस्तो परम्परागत कार्यक्रमतिर सहभागी हुन सबैभन्दा उत्तम सारी र कुर्ता–सलवार नै हुन्छ । यस्तो ड्रेसअपले महिलाहरूलाई धार्मिक देखाउन सहयोग गर्छ । यस्तो कार्यक्रममा रातो, रानी तथा पहेँलो कलरका पहिरन लगाउनु उपयुक्त हुन्छ ।
धार्मिक कार्यक्रममा सकेसम्म पश्चिमा पहिरन प्रयोग नगर्नु नै उत्तम हुन्छ । अहिले धेरै युवतीहरूले लगाउन रुचाउने ग्रन्ज जिन्स पाइन्ट, हट पाइन्ट, सर्ट स्कर्टलगायतका पहिरन धार्मिक कार्यक्रममा त्यति सुहाउँदो हुँदैन ।

अफिसियल कार्यक्रममा पनि सारी लगाउनु नै उत्तम हुन्छ । विवाहित तथा अविवाहित महिलाहरूलाई सारी सबै स्थानमा सुहाउँदो पहिरन हो । तर, कार्यक्रमको प्रकृतिअनुसार सारीको डिजाइन भने फरक–फरक हुन सक्छ । अफिसियल प्रोग्राममा सिम्पल सिफन, सिल्क, जर्जेट फेब्रिकका सारी उपयुक्त हुन्छ । त्यस्तै, विवाह, व्रतबन्धलगायतका विशेष कार्यक्रममा भने हेभी बुट्टा भएको सारी लगाउन सकिन्छ । यस्तो कार्यक्रम विशेषगरी रातको समयमा हुने हुनाले साइनिङ आउने डिजाइन रोज्नु उपयुक्त हुन्छ ।

केही लामो यात्रामा पैदल या गाडीमा नै जानुपर्ने भए पनि सारी नलागाउनु नै सहज हुन्छ । यस्तो समयमा कुर्ता–सलवार तथा पाइन्ट लगाउँदा निकै सहज हुन्छ ।

सबै प्रकारका पहिरन, ब्याग, पर्स र स्यान्डलको कलर सकेसम्म मिलाउनुपर्छ । हरेक प्रकारको ड्रेसअपमा कम्बिनेसन मिलाएर महिलाहरूले ह्यान्डब्याग बोक्नु उपयुक्त हुन्छ । महिलाहरूले प्रयोग गरिरहनुपर्ने मेकअपका किट्स, चस्मा, पर्स, मोबाइलजस्ता सामान बोक्न यसले धेरै सहज गराउँछ ।

कुनै पनि स्थानमा जानुअघि ड्रेसअपलाई जति महत्व दिइन्छ, सो ड्रेसअपसँग सुहाउँदो गरी मेकअप तथा हेयर स्टाइललाई पनि प्राथमिकता दिन भुल्नु हुँदैन । अन्यथा, जतिसुकै महँगो मूल्यमा खरिद गरिएको पहिरनले पनि व्यक्तित्व निर्माण गर्न सक्दैन । नयाँ पत्रिकाबाट

LIVE TV