२५ बैशाख २०७४, सोमबार

 

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ ।

महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने चर्चाले यहाँको चुनावी रौनक अझ बढाइदिएको छ ।

देशको केन्द्रीय राजधानीको निर्वाचन परिणाम आफ्नो प्रभाव, शक्ति र प्रतिष्ठासँग जोडेर प्रमुख दलले आफ्नो ध्यान काठमाडौँमा केन्द्रित गरेका छन् । दिनहुँ प्रत्येक टोलटोलमा बिहानै उम्मेदवारसँगै हुलका हुल समर्थक, पार्टीका झन्डा, माइकिङ, पर्चासहितको घरदैलो र सानासाना सभाले फेरि चुनावमय भएको छ ।

उम्मेदवारका आकांक्षीले फ्रि वाइफाइदेखि उज्यालो अभियानसहित मेट्रो रेलदेखि ट्रली बस चलाएर धुलो, धुँवा र खाल्डाखुल्डीरहित पूर्वाधार सम्पन्न व्यवस्थित राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गरेका छन् ।

उम्मेदवार पुनःनिर्माणलाई सार्थक बनाउँदै यहाँको भाषा, संस्कृति र सम्पदाको संरक्षण गरी गर्व गर्न लायक सुविधा सम्पन्न आधुनिक ‘स्मार्ट सिटी’ बनाउने चुनावी सङ्कल्प लिएर घरदैलोमा पुगिरहेका छन् । वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ ।

कुल ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८६६ को उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार विभिन्न दल तथा स्वतन्त्र गरी महानगरको प्रमुखमा २७, उपप्रमुखमा १३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै वडा अध्यक्षमा २१९, खुला सदस्यमा ३५३, महिला सदस्यमा १६५ र दलित महिला सदस्यमा ८९ जनाको उम्मेदवारी परेको छ ।

संसद्को ठूलो दल नेपाली काँग्रेसको तर्फबाट महानगरपालिकाको उम्मेदवार बनेका राजुराज जोशीले आगामी पाँच वर्षमा काठमाडौँ महानगरभित्र निःशुल्क वाइफाइको सुविधा प्रदान गर्ने सङ्कल्प गरेका छन् । महानगरभित्र भूकम्पले भत्केका भौतिक तथा पुरातात्विक संरचनाको पाँच वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने मुख्य एजेन्डा रहेको अवगत गराउँदै उनले भने, “महानगरपालिकालाई धुलो धुवाँरहित बनाउनुका साथै प्रत्येक खुला स्थानमा पार्कको व्यवस्था गर्न पहल गर्नेछु ।” मुलुकका सबै परिवर्तनमा काँग्रेसको प्रमुख भूमिका रहेको र नेतृत्व लिने क्षमता पनि आफ्नो पार्टीसँग भएको भन्दै उनले यसैको आधारमा निर्वाचन जित्ने दाबी गरे ।

विसं २०६८ को जनसङ्ख्याअनुसार महानगरपालिकाको जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ । मतदाता सङ्ख्या दुई लाख ७१ हजार २२१ छ । विसं २०५२ मा महानगरपालिका घोषणा हुँदा यसको नगरप्रमुख पिएल सिंह थिए । महानगर घोषणापछि २०५४ सालको निर्वाचनबाट केशव स्थापित नगर प्रमुख बने ।

संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजना अनुसार महानगरलाई २४ घन्टा खुल्ला बनाउने तथा पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउने दृढता व्यक्त गरे । सुरक्षित र जीवन्त सहर बनाउन घनिभूत भएर लाग्ने सङ्कल्प गर्दै उनले भने, “भवन निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्नेछु र काठमाडौँलाई सम्पदाको सहरका रुपमा विकास गर्नेछु ।” राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको एमालेले उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ ।

देशको मात्र नभएर अन्तर्राष्ट्रिय पर्यटकीय आकर्षणको केन्द्र महानगरपालिकाभित्र ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थल, स्वयम्भूनाथ र बौद्धनाथ स्तूप, पशुपतिनाथ मन्दिर, सिंहदरबार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हनुमानढोका र वसन्तपुर दरबार क्षेत्र छन् । कुल ५०.६७ वर्ग किमी क्षेत्रफलको महानगर बौद्ध र हिन्दू धर्मावलम्बीको पावन भूमि हो ।

प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) बाट महानगरपालिका प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोल आफू निर्वाचित भए काठमाडौँको वर्तमान धुलो धुवाँयुक्त स्वरुप परिवर्तन गर्ने बताए । उनले भने, “उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरीतका घरको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्नेछु ।”

स्वच्छ, सफा र हराभरा राजधानीवासीको चाहना भए पनि अहिले यो धुलो, धुवाँ, फोहर, जाम र अव्यवस्थित सहरीकरणको समस्याले आक्रान्त छ । राजधानी सहर भएर पनि एकातिर फोहर दुर्गन्ध ढल र अर्कोतिर खानेपानीको चरम अभाव छ । मतदाता यो समस्याबाट मुक्ति चाहन्छन् । “नेताका ठूला भाषणभन्दा काठमाडौँमा सहज सवारीसाधनको उपलब्धता, रातभर खुला, उज्यालो र सुरक्षित वातावरण बनाउने उम्मेदवार मेरो रोजाइमा छ,” कलङ्की स्थायी निवासी निनु पोखरेलले भने ।

निर्वाचित हुने उम्मेदवारका लागि काठमाडौँका पुराना घना बस्ती तथा साँघुरा सडकलाई आधुनिक रुपमा व्यवस्थापन गर्न कम चुनौतीपूर्ण भने छैन । सीतापाइला निवासी विष्णुमणि शर्मा राजधानी सहरलाई चौडा र हरियाली सडक तथा पूर्वाधार सम्पन्न बनाउने उम्मेदवारलाई मात्र मत दिने बताए ।

प्रमुख दलका साथै नगरप्रमुखमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट शिवहरि रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा निर्मलकुमार थापा, नेपाल मजदुर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्रबहादुर लिम्बू, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डवबहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिए ।

उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमारी पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसी उम्मेदवार छन् । स्वतन्त्रबाट उपप्रमुखमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जन उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिए ।
राजधानीमा खानेपानीका लागि २० वर्षदेखिको मेलम्चीको सपना अधुरै छ । वाग्मती सफाइ अभियान जारी छ । अर्कोतिर सडक विस्तार गर्दा मुआब्जा नपाएको भन्ने केहीको गुनासो पनि यथावत छ । मतदाताले यी मुद्दा सम्बोधन गर्ने उम्मेदवारको पनि चाहना राखेको देखिन्छ । निर्वाचनको माहोल हेर्दा प्रमुख तीनदलबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । यद्यपि अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि बाजी नमार्ला भन्न सकिन्न ।

LIVE TV