
काठमाडौँ । उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो र त्यसका लागि सरसफाइमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ । त्यस्तो सन्देश चिकित्सकको सल्लाहअनुसार नै आउने गर्दछ तर तिनै चिकित्सकको कार्यकक्षका शौचालय देख्दा सद्दे मान्छे नै बिरामी हुने अवस्था छ ।
उपत्यकाका सरकारी अस्पतालका शौचालय तथा सरसफाइ नभएका कारण बिरामी झन् बिरामी हुनुपर्ने अवस्था छ । सरकारी अस्पतालका शौचालय यति दुर्गन्धित छन् कि जसको असरले सामान्य मानिससमेत अस्पतालमा टिक्न सक्ने अवस्था हुँदैन । सरकारी अस्पतालमा सरसफाइलाई पनि त्यति ध्यान दिएको पाइँदैन ।
अस्पताल व्यवस्थापन कमजोरीका कारण सरकारी अस्पतालका शौचालय जानै नसक्ने अवस्थामा छन् भने कतिपय शौचालय खैनी, चुरोट, गुट्खा, पान तथा अन्य फोहोरले गर्दा दुर्गन्धित छन् ।
नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका हरेक शौचालय पसिनसक्नु छन् । बाध्यतावश दिसापिसाब गर्न गएका मानिसले नाक थुन्नुपर्ने अवस्था छ ।
वीर अस्पतालसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पाटन मानसिक अस्पताललगायतका अस्पतालका शौचालयमा नाक थुनेर भित्र छिर्नुपर्ने बाध्यता छ ।
केही दिनअघि वीर अस्पताल पुग्दा पुरानो आईसीयू पछाडिको शौचालय शौच गर्न त परै जाओस्, हेर्दासम्म बान्ता आउने देखिन्थ्यो । शौचालयभित्र पानीका बोतलदेखि लिएर दिसापिसाब नै माथि तैरिएको थियो ।
त्यहाँ मात्र होइन, भुइँ तलामा बिरामीको रगत सङ्कलन ल्याब छेवैको शौचालयमा मानिसको लाम देखिन्थ्यो भने शौचालयबाट आएको दुर्गन्धले बिरामी नाक छोप्न बाध्य थिए । अस्पतालको हरेक तलाका हरेक वार्डका शौचालय अगाडि पान खाएर थुकेको देखिन्थ्यो भने दुर्गन्ध त्यत्तिकै थियो ।
वीर अस्पतालका शौचालयको दुर्दशा त उदाहरण मात्र हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि त्यस्तै हविगत छ । भर्ना भएका बिरामी शौच गर्ने ट्वाइलेटमा नाक थुनेर जानुपर्ने बाध्यता रहेको छ । ट्वाइलेटभित्र धेरै बेर बस्न सकिँदैन । वीर, सरुवा रोग अस्पताल मात्र होइन, उपत्यकामा रहेका हरेक सरकारी अस्पतालका शौचालय हेर्नलायक नै छैनन् ।
यस सन्दर्भमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङले अस्पतालले शौचालय सफा गर्न प्रयास गरे पनि सम्भव नभएको लाचारी व्यक्त गर्नुभयो । “दैनिक तीन पटकसम्म सफा गर्न भनेका छौँ तर पनि सम्भव भइरहेको छैन,” उपकुलपति डा. गुरुङले भन्नुभयो ।
उहाँले मानिसमा जनचेतनाको कमीले गर्दा नै शौचालय सफा गर्न नसकिएको बताउनुभयो । बिरामी तथा बिरामीका आफन्त बाथरुम गएको हेरेर ढुक्कसँग बस्ने अवस्था छैन भन्दै उहाँले प्याड, ढुङ्गा, कागजजस्ता सामग्री हालिदिएपछि जति सफा गरे पनि केही नलागेको बताउनुभयो ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक अमिरबाबु श्रेष्ठले चाहिँ अन्य अस्पतालको तुलनामा प्रसूतिगृहमा धेरै सुधार भइसकेको दाबी गर्नुभयो । दैनिक चारपटकसम्म शौचालय सफा गर्ने गरेको जानकारी दिँदै उहाँले गतहप्ता मात्र दुईवटा शौचालय थप गरिएको बताउनुभयो ।
दिसापिसाब गर्ने व्यक्तिले फोहोर गरेर अस्पतालका शौचालय फोहोर भएको उहाँले बताउनुभयो । “मानिसमा जनचेतनाको कमीले पनि फोहोर भएको हो,” निर्देशक श्रेष्ठले भन्नुभयो, “मानिस आफ्नो घरमा आफैले सरसफाइ गर्ने हुँदा फोहोर गर्दैन, अन्यत्र दिसापिसाब गरिसकेपछि फोहोर गरेर हिँड्छ । ” सरकारी अस्पतालमा सफाइको चेतना नभएका बिरामी धेरै आउने हुनाले पनि शौचालय फोहोर भएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।
यी अस्पतालको सरसफाइ तथा शौचालय फोहोरको विषयमा कुरा गर्ने क्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले यस्तो समस्या वीरको मात्र नभई नेपालभरका सबै सरकारी अस्पतालको रहेको बताउनुभयो । “अस्पतालमा उपचार गर्न जाने मानिस झनै बिरामी हुने अवस्था छ,” मन्त्री थापाले भन्नुभयो, “मैले मन्त्री हुनेबित्तिकै अस्पतालका शौचालयदेखि हरेक सरसफाइको विषयमा ध्यान दिन अस्पताललाई निर्देशन दिएको थिएँ । ”
अस्पतालको सरसफाइ भएन भने अस्पताल नै हुन नसक्ने भन्दै मन्त्री थापाले शौचालय सरसफाइदेखि लिएर अस्पताल रङरोगनका लागि नेपालभरका अस्पताललाई अस्पतालको प्रकृति हेरेर ६०÷७० लाखसम्म रुपियाँ पठाइसकेको जानकारी पनि दिनुभयो ।