२४ बैशाख २०७४, आईतवार

 

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले गोरखापत्रलाई स्तरीय बनाइने बताउनुभएको छ ।

गोरखापत्र संस्थानको ११७ औँ वार्षिकोत्सव तथा दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गोरखापत्रलाई नयाँ उचाइमा पु¥याउँदै स्तरीय बनाइने बताउनुभयो । उहाँले नेपाली पाठकका लागि गोरखापत्र पठनीय भएको उल्लेख गर्दै गोरखापत्रले गाउँगाउँका समाचार दिइरहेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री कार्कीले गोरखापत्रको औचित्य अझै बढेको बताउँदै सरकारले गोरखापत्रलाई निजीकरण नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “निजीकरण गर्छ कि भन्ने कर्मचारीले चिन्ता गर्नु भएको रहेछ”–उहाँले भन्नुभयो, “चिन्ता लिनु राम्रो हो । तर हामी गोरखापत्रलाई निजीकरण नभई अझ सक्षम र सवल गराउँछौँ ।”

सञ्चारमन्त्री कार्कीले गोरखापत्रको स्तरोन्नतिका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “गोरखापत्र बनाउने हात तपाइँहरुको हो । सम्पदकीय, लेख तथा लेखन सामग्री राम्रो बनाउनु प¥यो”–उहाँले भन्नुभयो, “अरु जस्तोसुकै सहयोग गर्न सरकारले गर्न तयार छ ।” अरु पत्रिकाको नक्कल नभई आफ्नै मौलिकता र सकारात्मक सामग्री गोरखापत्रमा छापिनुपर्ने उहाँको भनाइ थियो ।

सङ्घीय संंरचनाअनुसार गोरखापत्रलाई सातै प्रदेशबाट प्रकाशित गर्ने तयारी भइरहेको बताउँदै उहाँले गोरखापत्रले सबै भाषाको सामग्री प्रकाशित गरेर नेपाली भाषा र विभिन्न जातजातिको मातृ भाषालाई समृद्ध बनाउन सहयोग मिलेको बताउनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा जनशक्ति र प्रविधीले पनि गोरखापत्रको आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गोरखापत्रलाई नयाँ संरचनामा लगेर कानुनी, भौतिक र आर्थिकरुपमा सक्षम बनाइने उल्लेख गर्नुभयो ।

संविधानविद् काशीराज दाहालले मुलुकलाई सङ्कट पर्दा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्राध्यापक एवम् वरिष्ठ पत्रकार पी खरेलले सात प्रदेशमा गोरखापत्र पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रका पुराना अङ्कलाई डिजिटल अर्काइभ ९अभिलेख० मार्फत अनलाइनमा राख्ने तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रा खरेललाई रु ५५ हजार ५५५ राशिको दोस्रो ‘गोरखापत्र राष्ट्रिय पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । यस्तै, ‘गोरखापत्र सम्मान–२०७४’ वाट गोरखापत्रमा योगदान गरेका विभिन्न चार व्यक्तित्वलाई सम्मान गरिएको छ । बरिष्ठ पत्रकारद्वय भारतदत्त कोइराला र गोकुलप्रसाद पोखरेल, प्रशासक राधारमण उपाध्याय र साहित्यकार शिव रेग्मीलाई सो अवसरमा सम्मानित गरिएको थियो ।

यस्तै, उत्कृष्ट कर्मचारीको पुरस्कार रु २५ हजारको सागरप्रसाद ढुंगाना र गोरखापत्र पत्रकारिता पुरस्कार ‘द राइजिंग नेपाल’का नायब कार्यकारी सम्पादक गान्धीराज काफ्लेलाई प्रदान गरियो । रासस

LIVE TV