२४ बैशाख २०७४, आईतवार
  • शरद / प्रकाश

चितवन । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नारायणगढ मुग्लिन सडक खण्ड सोमबारदेखि १० दिनसम्म चौबीसै घण्टा खुल्ला गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सोमबारदेखि जेठ ३ गतेसम्म सडक खुल्ला रहने जनाएको हो ।

सडक विस्तारको काम भईरहेको उक्त सडक खण्डमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम हुँदै आएको थियो । आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार १० दिनको अवधिमा २४ सैं घण्टा दोहोरो गाडी चल्न सक्ने गरी खुल्ला राखिने छ ।

निर्वाचनको समयमा अत्याधिक मात्रामा सवारीसाधन ओहोरदोहोर गर्ने र राजधानी काठमाण्डौंबाट ठूलो संख्यामा मतदाता गाउँगाउँ जानु पर्ने भएकोले सडक खुल्ला राखिएको खनालले जानकारी दिनुभयो । यस अवधिमा सडकमा काम भने जारी राखिने छ । निर्वाचन नहुने क्षेत्रका कामदारहरुले सडक अवरोध नहुने गरी काम गर्ने खनालले बताए ।

सो सडक खण्डमा हालसम्म ४७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सन् २०१५ को अप्रिल १९ तारिखबाट काम थालिएको हो । समयमा काम सम्पन्न नहुने भएपछि समय थप गरिएको छ । जस अनुसार सन् २०१७ को डिसेम्बरसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । समयमै काम भएको भए पहिलो सम्झौता अनुसार हालसम्म सम्पन्न भैसक्नु पर्ने हुन्थ्यो । नाकाबन्दी, भूकम्प लगायतका कारण देखाउँदै ठेकेदार कम्पनीहरुले आठ महिना समय थप गराएका हुन् ।

१६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । राजधानी काठमाडौंबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडकव्यस्त रहने गर्दछ । दैनिक आठ हजारको हाराहारीमा उक्त सडक हुँदै सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । निर्माणमा ढिलाई हुँदा धुलो, सडक जाम लगायतका कारण यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

 

LIVE TV