२४ बैशाख २०७४, आईतवार
  • रिया भण्डारी,

काठमाडौं । उत्पादनको हिसाबले सात बर्ष देखि बन्द रहेको नेपाल औषधि लिमिटेड आइतबारबाट पुनः संचालनमा आएको छ । जीवनजलको उत्पादन सुरुगर्दै औषधि लिमिटेडले उद्योग पुनः संचालनको शंखघोष गरेको हो ।

आइतबार नेपाल औषधि लिमिटेड परिसरमा छुट्टै रौनक थियो । सात बर्ष देखि सुनसान रहेको परिषदले आइतबार देखि जीवनजल उत्पादनको शुभारम्भ गरेसंगै पुनर्जीवन पाएको छ । बिगत सात बर्ष देखि मेसिनमा लागेको धुलो पुछ्दै उद्योग पुर्न संचालनको आशमा बसेका लिमिटेडका कर्मचारीमाहरु उद्योग पुनः संचालन हुँदा हर्षित बनेका छन् ।

उद्योग पुनः संचालन तथा जीवनजल उत्पादनको उद्घघाटन कार्यक्रममा मन्त्री जोशीले कयौ कठिनाइलाई पार गरेर उद्योग संचालनमा ल्याएको र लिमिटेडबाट जीवनजल, सिटामोलसहित बिभिन्न चरणमा गरि एक सय २० प्रकारकै औषधि उत्पादन हुने दावी गरे ।

नेपालमा झाडापखलाको औषधि भन्ने बित्तिकै अन्य जुनसुकै कम्पनीका औषधि आए पनि ‘जीवनजल’ नै भनेर नाम कमाएको लिमिटेडको उत्पादन ‘जीवनजल’ भने २०६६ सालदेखि बन्द थियो। अब भने जीवनजलको उत्पादन पुनः सुरु भएको छ। लिमिटेडबाट अब दैनिक १० हजार पाउच (प्याकेट) जीवनजल उत्पादन हुनेछ । जीवनजलको नयाँ उत्पादन हाल बजारमा रहेका जीवनजल भनेर चिनिने अन्य औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको लिमिटेडकले जनाएको छ।

लिमिटेड संचालनमा आए संगै अब क्रमश अन्य औषधिहरु पनि उत्पादन थाल्ने छ । २०२९ सालमा स्थापना भएको औषधि लिमिटेडबाट विगतमा एक सय २० प्रकारका औषधि उत्पादन हुने गथ्र्यो । तर, विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा नभएका कारण ०६६ सालदेखि औषधिको उत्पादन बन्द थियो ।

अहिले लिमिटेडले उक्त मापदण्ड पूरा गरी उत्पादन अगाडि बढाएको हो । सरकारको स्वामित्वमा रहेका लिमिटेड संचालन संगै देशका अन्य उद्योगहरुमा पनि आशा पलाएको छ । यसैलाई प्रतिनिधि उदाहरण मानेर अन्य उद्योगहरु पनि व्युँताउनु जरुरी छ ।

 

LIVE TV