२४ बैशाख २०७४, आईतवार
  • तारा आचार्य,

मोरङ । मोरङको बक्राहा बाढी पीडितहरुले यथाशीघ्र चाँडो बक्राहा नदीमा तटबन्ध निर्माणको माग गरेका छन् । उनीहरुले तटबन्ध निर्माणको माग गर्दै आइतवार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन् ।

गत वर्ष अषाढ र साउनमा बक्राहा नदीमा आएको बाढीले मोरङको हसन्दह जयनगरमा भत्काएको बाँध अझै पनि निर्माण नगरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । वर्षाको मौसम आउन लागेको र फेरि बाढीले अस्थायी बाँध भत्काउन सक्ने भएकाले छिटो भन्दा छिटो स्थाई बाँध बनाउन स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र समेत बुझाएका छन् । जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले बाँध निर्माणको ठेक्का लगाएको भएपनि काममा ढिलाई भईरहेको स्थानीयको गुनासो छ ।
गत वर्ष बक्राहा नदीले करिब ५ सय मिटर बाँध भत्काउदा मोरङको अमरदह, हसन्दह, गोविन्दपुर, डायनिया र टकुवाका करिब ११ सय परिवार विस्थापित भएका थिए भने करिब ५ हजार बिगहा जग्गा डुबानमा परेको थियो । बाँध भत्किएका कारण करिब ५० करोड रुपैया बराबरको क्षति भएको थियो ।

 

LIVE TV