२४ बैशाख २०७४, आईतवार

काठमाडौं । सरकारले करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकांक्षी लक्ष्यका साथ एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाएको छ । आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी क्षेत्रमा पु¥याउने तथा विद्युतभार कटौतीलाई पूर्णरुपमा अन्त्य गर्ने सरकारको तयारी छ ।

ऊर्जा मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा दुई अर्बको लागतमा एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराइएको हो । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको आवश्यकता र चाहनाअनुसार आगामी हिउँदको विद्युत् व्यवस्थापन गर्ने लक्ष्यका साथ प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले जनतालाई राहत दिन र नियमित रुपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब प्रयोग भएपछि औद्योगिक क्षेत्रमा रहेको चार घन्टा विद्युतभार कटौती अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी हिउँदमा करिब १ सय मेगावाट थप विद्युत् माग हुने र त्यस अवधिमा चमेलिया र कुलेखानी तेस्रो बाहेक अरु निजी क्षेत्रबाट थपिने विद्युत्को मात्रा कम हुन जाने पनि स्पष्ट पारे ।
नेपाल भारत सचिवस्तरीय बैठकको निर्णयअनुसार भारतको नयाँदिल्लीमा आयोजित तेस्रो बैठकले भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको थियो ।

 

LIVE TV