२४ बैशाख २०७४, आईतवार

झापा । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिदै गर्दा माहोल उत्र्कषमा पुगेपनि दोस्रो चरणमा निर्वाचन हुने झापामा भने निर्वाचनको चर्चा केही सेलाएको छ । यतिबेला झापामा निर्वाचनका कर्मचारी मात्रै नभई निर्वाचनकै लागि भर्ना गरिएका म्यादी प्रहरीहरु समेत फुर्सदिला देखिन्छन् । निर्वाचन सरेसँगै फुर्सदिला बनेका झापाका म्यादी प्रहरीलाई भने अहिले फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शहर सुरक्षा गस्तीमा खटाइएको छ ।

प्रदेश नम्बर १ सहित ४ वटा प्रदेशको निर्वाचन दोस्रो चरणमा आगामी जेठ ३१ का लागि सरेपछि झापामा हाल निर्वाचनका सबै काम स्थगित अवस्थामा छन् । निर्वाचनकै सुरक्षाका लागि जनशक्ति अपुग हुने भन्दै भर्ना गरिएका म्यादी प्रहरी पनि निर्वाचन सरेसँगै शहर सुरक्षा र ट्राफिक व्यवस्थापन लगायतका अन्य सुरक्षा व्यवस्थामा खटाइएको छ । उनीहरुलाई प्रहरीको सहयोगमा केही दिनको तालिम पश्चात् सरसफाई, ट्राफिक व्यवस्थापन, वित्तीय संस्थाहरुको सुरक्षा लगायत गाउँ गाउँमा गस्तीमा खटाइने गरेको छ ।
सरकारले म्यादी प्रहरीलाई पोषाकका लागि भनेर प्रति व्यक्ति ७ हजार १ सय तथा रासन भत्ता वापत दैनिक १ सय ९७ रुपैयाँ छुट्याएको छ । उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ तलव पाउने छन् । जिल्ला प्रहरी कार्यालय झापामा अनुसार हाल झापामा २ हजार १ सय १४ जना म्यादी प्रहरीहरु परिचालन गरीएको छ । उनीहरुको पोषाक लगायतका सेवा, सुविधाको प्रक्रियामा नै ढिलो भइरहेको बताउदै अब केही दिनमा सबै सेवा, सुविधा उपलब्ध हुने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले बताए ।
गत चैत २५ मा ५५ दिनका लागि भनेर म्यादी प्रहरी नियुक्त गरिएको थियो । तर, देशको राजनीतिक खिचातानीका कारण स्थानीय निर्वाचन २ चरणमा हुने भएपछि म्यादी प्रहरीले थप दिनहरुमा समेत सेवा गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

LIVE TV