
काठमाडौं । चुनाव प्रचारबाट फर्किंदै गरेका नयाँ शक्तिका कार्यकर्तामाथि माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । शनिबार साँझ गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नयाँ शक्तिका चार कार्यकर्ता घाइते भएका छन् ।
‘देउरालीको चुनावी सभाबाट फर्कंदै थियौँ,’ नयाँ शक्तिका तर्फबाट गोरखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका ज्ञानेन्द्र कुमालले भने– ‘लक्ष्मीबजार आइपुगेपछि एक्कासी इँटा प्रहार गर्दै कुटपिट गर्न थाले ।’ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका चार कार्यकर्ता घाइते भएका छन् ।
गोनपा–१० छेवेटारका सुवास कुमाल, भीमबहादुर कुमाल, तीलक रम्तेल र दीपक कुमाल घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
माओबादीले नयाँ शक्तिका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन्। इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फूटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरिदिएका छन्।
सुरक्षा घेरामा लक्ष्मी बजार
अहिले लक्ष्मीबजार क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ । शनिबार नै चुनावी प्रचारका लागि भट्टराई गृहजिल्ला गोरखामा छन् ।
नयाँ शक्तिले गोरखालाई प्रतिष्ठाको विषय बनाएर चुनावी प्रचारलाई तीब्रता दिएपछि त्यसलाई रोक्न माओवादीले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।