काठमाण्डौ। राज्यका प्रमुख अङ्गहरू कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाको अधिकार क्षेत्र र कार्यशैलीबारे पक्ष विपक्ष बहसमा चलिरहँदा सात दिनपछि हुने स्थानीय निकायको निर्वाचन सुरक्षामा कुनै असर पर्ला ?
खासगरी बहसको मूल विषय पनि निर्वाचन सुरक्षाको मुख्य जिम्मेवारी लिएका नेपाल प्रहरीको ‘प्रमुख’ नियुिक्तलाई लिएर उत्पन्न भएकोले प्रश्न स्वाभाविक छ । तर, सरोकारवालाले भने यसले कुनै समस्या नपर्ने दाबी गर्दै ‘निर्वाचन सुरक्षाको सम्पूर्ण व्यवस्था भइसकेकाले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने’ बताएका छन ।
सरकारले प्रधानन्यायाधीशमाथि सदनमा दर्ता गरएको महाभियोग प्रस्ताव र सर्वोच्च अदालतले दर्ता भएको प्रस्ताव अघि नबढाउन तथा निलम्बनमा रहनुभएका प्रधानन्यायाधीशलाई काममा फर्कन दिएको आदेशलाई स्थानीय तहको चुनावको सुरक्षासँग जोडिएको छ ।
‘निर्वाचन सुरक्षामा कुनै किसिमको समस्या छैन,’ गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव बालकृष्ण पन्थीले भने, ‘सबैतिर जिम्मेवारीपूर्वक काम भइरहेको छ । सुरक्षाको पूर्व योजनाअनुरूप सबै काम भइरहेको छ, सुरक्षा प्रणालीमा कुनै समस्या छैन । ’ उनले बाहिर देखिएको बहसले निर्वाचन सुरक्षार्थ खटिएका प्रहरी वा कर्मचारीबीच कुनै समस्या नपरेको बताए ।
प्रहरी पूर्णतः ‘चेन अफ कमान्ड’मा चलिरहेको जानकारी दिँदै उहाँले यसअघि भएका नर्वाचन समेतको अनुभवको आधारमा शान्तिपूर्ण र भयरहित वातावरणमा गराउन आवश्यक पर्ने सम्पूर्ण स्रोत साधान व्यवस्थापन भइसकेको बताए । ‘नेपाल प्रहरीको इतिहासमा कुनै विशेष घटनाक्रमले चेन अफ कमान्डमा समस्या आएको छैन, आउने छैन,’ प्रवक्ता पन्थीले भने, ‘प्रहरी पूर्णतः ‘चेन अफ कमान्ड’मा चलिरहेको छ, नेपाल प्रहरी ‘इन्टेक’ (एकबद्ध) छ । ’
दुई चरणमा गर्न लागिएको निवार्चनअन्तर्गत पहिलो चरणमा वैशाख ३१ गते ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव हुन लागेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी० सर्वेन्द्र खनालका अनुसार पहिलो चरणको चुनावका लागि २६ हजार नियमित र २० हजार म्यादी प्रहरी खटिएका छन् । पाँच हजारलाई ‘रिजर्भ फोर्स’ अर्थात् जगेडाको रूपमा राखिएको छ ।
प्रहरीको साथमा सशस्त्र प्रहरीले दोस्रो घेराबाट सुरक्षा प्रदान गरिरहेको छ । सरकारले निर्वाचनका लागि सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्ने योजनासहित नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिसकेको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा परिषद्को निर्णय छ । मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन् ।
दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा देशभरका एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता सहभागी हुँदैछन् । १० हजार ६ सय ४० मतदान केन्द्रमा १८ हजार ५ सय ७२ वटा बुथ निर्धारण गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणको निर्वाचनमा ५० लाख ५६ हजार ९२५ मतदाता मतदानमा सहभागी हुँदैछन्।
मतदानको लागि ६ हजार ६८२ केन्द्र तोकिएको छ । ‘हामी सुरक्षा निकायसँग आवश्यक्ता अनुसार छलफल गरिरहेकाछौँ,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘अहिलेसम्म कुनै समस्या आएको छैन । निर्वाचनको तयारी स्वाभाविक प्रक्रियाअन्तर्गत अघि बढिरहेको छ । ’
निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ । हाल ७२ हजार नेपाल प्रहरी तथा ३७ हजार सशस्त्र प्रहरीको दरबन्दी छ । नेपाली सेनामा करिब ९० हजार जनशक्ति छ । म्यादी प्रहरीको सङ्ख्यासमेत थप गर्दा निर्वाचनमा सुरक्षामा दुई लाख ७४ हजार परिचालन छन् ।गोरखापत्र बाट