२३ बैशाख २०७४, शनिबार

काठमाडौं । गिनिज बुकमा आफ्नो नाम रेकर्ड गर्नका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको निधन भएको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार ८६ वर्षिय शेरचनको शनिबार निधन भएको हो । म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए ।


शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिँडेका हुन् । शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान पनि चलाइएको थियो । सगरमाथा आरोहण अघि आयोजित एक पत्रकार सम्मेलनमा शेरचनले भनेका थिए, ‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु ।’

मीन बा. शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । मीन बहादुर शेरचन सगरमाथा आरोहण अभियान’ ले सन् २०१३ र २०१५ मा प्राविधिक कारणले अक्षम भएको भन्दै यस वर्ष आरोहणको मिति तोकेको थियो । शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए ।

शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो । आरोही शेरचनले विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि सगरमाथा आरोहण गर्ने बताएका थिए ।

LIVE TV