२३ बैशाख २०७४, शनिबार

खोटाङ । असिनापानीसँगै परेको चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । आज दिउँसो परेको चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४३ वर्षीय शेरबहादुर कटवालको मृत्यु भएको हो ।

घरमा बसिरहेका कटवाललाई चट्याङ लागेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गर्ने क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । मृत कटवालको शव परीक्षणका लागि अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

पानीसँगै परेको असिनाले जिल्लामा लाखौँको क्षति पु¥याएको छ । लेकाली क्षेत्रमा फल्दै गरेको आलु र गोड्ने बेलाको मकै, बेँसी क्षेत्रमा पाक्न लागेको गहुँ तथा तरकारी बालीमा क्षति पुगेको कृषकले बताएका छन् ।

असिनापानीले जिल्लामा ठूलो क्षति पु¥याए पनि क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षति विवरण सङ्कलन गर्न भोलि आइतबारबाटै प्राविधिक टोली परिचालन गर्ने कार्यालयले जनाएको छ । रासस

LIVE TV