
काठमाडौं । माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि आफनो घोषणापत्र सार्वजनिक गरेको छ । संविधानमा समिटिएका २२ वटा अधिकार स्थानीयस्तरमा लागू गर्न प्रतिबद्ध रहेको जनाउँदै माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गरेको हो ।
शुक्रबार पेरिसडाँडामा कार्यक्रमको आयोजना गरेर माओवादी केन्द्रको उपहार, गाउँनगरमा सिंहदरवार नारासहितको ३० बुँदे घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तहमा समाबेशी, समानुपातिक, लोकतन्त्रका लागि माओवादीको पहिलो प्रयास गरेको जनाएको छ ।
केन्द्रले घोषणापत्रमा किसानलाई भूमिको अधिकार, गाउँगाउँमा वाइफाई, उपभोक्तामुखी बजारको व्यवस्था, तीव्र शहरीकरणलगायतका विषयलाई समेटेको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिए ।
माओवादी केन्द्रले घोषणापत्रमा सूचना तथा संचार जनजागरणको आधार भन्दै गाउँगाउँमा निशुल्क वाइफाइको व्यवस्था गरिने जनाएको छ ।