२२ बैशाख २०७४, शुक्रबार
  • शरद आचार्य ÷ प्रकास सिग्देल,

चितवन । जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा ३ गुणा बढी कैदीवन्दीहरु बस्न बाध्य भएका छन् । २ सय ५५ जनाको क्षमता रहेको कारागारमा ६ सय ६९ कैदी तथा बन्दीहरु रहेका छन् । चितवन देशकै केन्द्रमा रहेको र मेडिकल सिटीकोरुपमा विकास हुँदै गएकोले यहाँ अन्य जिल्लाबाट बिरामी कैदीबन्दी तथा अन्य बन्दीहरुलाई ल्याएर राख्ने गरेकाले यस्तो अवस्था आएको हो ।

चितवन कारागारमा कैदीबन्दीहरुको संख्या अधिक रहेको जिल्ला कारागार भरतपुरका प्रमुख कमलप्रसाद काफ्ले स्वीकार्नु हुन्छ । उहाँका अनुसार १५ जना महिलाको क्षमता रहेको कारागारमा ५७ जना बस्न बाध्य भएका छन् । छिमेकी जिल्ला मकवानपुरमा महिला कारागार नभएका कारण त्यहाँबाट पनि चितवनमा नै ल्याईने हुँदा चितवनमा महिलाहरुको संख्या अधिक भएको हो । त्यस्तै ३ जना नावालकहरु पनि कारागारमा रहेका छन् । त्यस्तै २४० जना पुरुषको क्षमता भएको कारागारमा ५०९ जनालाई राख्नु परेको पनि काफ्ले बताउँछन् ।

कारागारमा ३ सय ४६ कैदीहरु रहेका छन् भने १ सय ६३ बन्दीहरु रहेका छन् । चितवन कारागारमा क्षमता भन्दा ३ गुणा सम्म कैदीवन्दी हुँदा हुँदै पनि आन्तरिक ब्यवस्थापन निकै प्रभावकारी भएकाले कुनै खालको समस्या नदेखिएको कारागारका चौकीदार अमृत गुरुङले बताए ।

भरतपुर कारागारमा बिरामी कैदीवन्दीहरुको संख्या पनि अधिक रहेको कारागारका आन्तरिक मेडिकल नाईके मदारी महतोले जानकारी दिए ।

चितवन कारागारलाई सुधार गृहकै रुपमा बिकास गर्ने योजना अन्तर्गत काम भएको कारागार प्रशासनको भनाई छ ।

 

LIVE TV