
काठमाडौँ । अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीकी नेत्री नान्सी पेलोसी संसदीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार पेलोसी नेतृत्वको संसदीय टोलीले नेपालसहित भारत, जर्मनी र बेल्जियमको भ्रमण गर्नेछ । टोलीले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय अर्थव्यवस्था, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध तथा मानवाधिकारका क्षेत्रमा पछिल्ला जानकारी लिनेछ ।
“हाम्रो संसदीय टोलीको यो भ्रमण अमेरिकासँग भारत, नेपाल र हाम्रा नेटो सदस्यको सम्बन्धको निकै महत्वपूर्ण समयमा हुन लागेको छ,” नेत्री पेलोसीको भनाइ उद्धृत गर्दै आज जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो टोलीले कसरी आर्थिक तथा सुरक्षा सम्बन्ध, र रुससँगको सम्बन्धदेखि विश्व मानव अधिकारसम्मका विषयमा उत्पन्न चुनौतीलाई सम्बोधन गर्ने विषयमा उच्च नेतृत्वसँग छलफल गर्नेछ ।”
सो टोलीमा अमेरिकी संसद्का महत्वपूर्ण समितिका सांसद जिम सेनसेनब्रेनर, इलिअट इन्जेल, जिम म्याकगभर्न, बेट्ट म्याक्कोलम, जुडी चू, जोयस बिटी र प्रमिला जयपाल रहनुहुनेछ । रासस