२२ बैशाख २०७४, शुक्रबार

मोरङ । पत्रकारहरुलाई पेशागत मर्यादा र सामाजिक उत्तरदायित्व बहन गराउन पत्रकार आचारसंहितालाई कडा रुपमा पालना गराउन स्वयं पत्रकारहरुले आग्रह गरेका छन् । उनीहरुले पत्रकारहरुले आफ्नो मर्यादा, दायित्व र सामाजिक अपेक्षामा खरो उत्रन पनि आचारसंहिताको परिपालना अत्यावश्यक भएको धारणा व्यक्त गरेका छन् ।

प्रेस काउन्सिल नेपालले शुक्रवार विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता अन्तक्र्रिया कार्यक्रममा पछिल्लो समय आचारसंहिता उल्लंघन गर्ने मिडिया हाउस र संचारकर्मीहरुलाई कारवाही नगरिएका कारण केही वर्ष यता यसको उल्लंघन व्यापक रुपमा बढेकाले प्रेस काउन्सिललाई स्वायत्त र स्वतन्त्र बनाउनु पर्ने र काउन्सिल कडा रुपमा प्रस्तुत हुनुपर्ने आग्रह गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरुलाई स्वेच्छाचारी हुनबाट रोक्न पनि आचारसंहिता अत्यावश्यक भएको बताउदै नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् प्रेस काउन्सिलका सदस्य डा. महेन्द्र विष्टले पत्रकारहरुको सहयोग विना आचारसंहिता कार्यान्वयनमा कठिनाई हुने भएकाले आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको थियो ।

आचारसंहिता पालना हुन नसके पत्रकारिता क्षेत्र नै समस्यामा पर्ने भएको भन्दै स्थानीय तहको निर्वाचनमा पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र व्यवहार देखाउन विष्टले आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष विष्टले पत्रकार आचारसंहिता २०७३ र निर्वाचन आचारसंहिता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मोरङका विभिन्न संचार माध्यमका सम्पादक, प्रकाशक र संचारकर्मीहरु सहभागीता रहेको थियो ।

 

LIVE TV