
काठमाडौं । प्रहरीले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाएको छ । उपत्यकाको निर्वाचन शान्त, सुरक्षित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न र गराउन काठमाण्डौ प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था मजबुद बनाएको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले उपत्यकाको सुरक्षाव्यवस्था प्रभावकारी बनाइएको जानकारी दिनुभयो । निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियामा खलल पु¥याउने कार्य गर्नसक्ने भएकाले काठमाडौँलाई विशेष सुरक्षा निगरानीमा राखिएको उनले बताए ।
निर्वाचनको सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले टेकुमा जिल्ला निर्वाचन सुरक्षा सेलसमेत खडा गरेको छ । प्रहरीले काठमाण्डौको मतदान केन्द्रको सुरक्षाका लागि दुई हजार ६६० प्रहरी, दुई हजार ७५८ जना म्यादी प्रहरी परिचालन गरेको छ ।