२२ बैशाख २०७४, शुक्रबार
  • कृष्ण पाण्डे,

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहिया निर्माणाधीन नमुना ६ लेन सडक खण्डमा १० वटा आकाशे पुल निर्माण गरिने भएको छ । तीब्र रुपमा बृद्धि भएको सवारी साधन र यात्रुको चापलाई मध्यनजर गर्दै सो नमुना ६ लेन सडक खण्डमा आकाशे पुलको निर्माण कार्य शुरु भएको हो ।

बुटवलदेखि बेलहियासम्म प्रति पुल १ करोड २५ लाख रुपैयाँको दरले १२ करोड ५० लाख रुपैयाँको लागतमा ती आकाशे पुलहरु निर्माण हुने सडक बिभागले जनाएको छ ।

आगामी १५ महिनाभित्र निर्माण सम्पन्न भै संचालनमा आउने शर्तमा ठेकेदारसँग सम्झौता भैसकेको बुटवल बेलहिया सडक बिस्तार आयोजनाका ईन्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणमा बुटवलको राजमार्ग चौराह, कालिकानगर, योगिकुटीमा पुल निर्माणका लागि कार्य शुरु भैसकेको ईन्जिनियर भण्डारीको भनाई छ ।

बढ्दो जनघनत्वसँगै तीब्ररुपले बिकासको फड्को मारिरहेको रुपन्देहीको मेरुदण्डको रुपमा रहेको सो ६ लेन सडक निर्माणको साथै आकाशे पुलको निर्माणले यात्रु तथा सवारी आवागमनमा सहजता प्रदान गर्नुका साथै यसक्षेत्रको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय बिमानस्थल, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभागृह लगायतका राष्ट्रिय गौरबका आयोजनाहरुसँगै यो आकाशे पुल निर्माणको कार्यले यसक्षेत्रको आर्थिक सामाजिक बिकासमा महत्वपूर्ण टेवा पुग्ने बताइएको छ ।

 

LIVE TV