२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । सिंगापुर सरकार र त्यहाँका जनतामार्फत सिंगापुर रेडक्रसले नेपालमा सञ्चालन गरेका पूर्ननिर्माणका सबै परियोजना सम्पन्न गरेको छ ।

सिंगापुरका विदेश तथा रक्षामन्त्री डा. मोहम्मद् मालीकिविन ओसमानले भूकम्प प्रभावित जिल्लामा सञ्चालित पहिलो चरणका सबै कार्यक्रम सकिएको उद्घोष गरेका छन् ।

सिंगापुरको विदेश मन्त्रालय र सिंगापुर रेडक्रसले काठमाडौंमा आयोजना गरेको मानवताका लागि साझेदारीः पूर्ननिर्माणमा नेपाल नामको एक कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

सिंगापुर रेडक्रसले सञ्चालन गरेका परियोजना स्थल भ्रमण गर्न र मानविय सहायतका लागि सञ्चालन गरेका पहिलो चरणका परियोजनालाई औपचारिक रुपमा समापन गर्न नेपाल आएका विदेशमन्त्री ओसमानले सिंगापुर र नेपालको दौतरी सम्बन्ध प्रगाढ बनाउनका लागि नेपालको पुर्ननिर्माणले थप सहायता खेल्ने विश्वास व्यक्त गरे ।

४ दिने औपचारिक नेपाल भ्रमणमा आएका मन्त्री ओसमान सिंगापुरका जनताको सहयोगमा बनेका परियोजनामध्ये सिन्धुपाल्चोको कालिका गाविसमा बनेको विद्यालयको निरिक्षण गरि फर्किएका छन् ।

रेडक्रसले करिब ८० करोडको लागतमा भूकम्पले ज्यादा प्रभाव पारेका गोरखा, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा सरकारी भौतिक संरचना तयार गरी समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

२०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले क्षती भएका विभिन्न सरकारी विद्यालय, सामुदायीक भवन तथा स्वास्थ्य चौकी बनाएको सिंगापुर रेडक्रसले नेपालमा १५ सामाजिक संस्थामार्फत पूर्ननिर्माणको थालनी गरेको थियो ।

कार्यक्रममा नेपाल तथा सिंगापुरमा रहेका साझेदारी संस्थाले पूर्ननिर्माणमा गरेका सबैखाले गतिविधिहरुको फोटो तथा भिडियो प्रर्दशनी गरि हालसम्म भए गरेका सबै कामकाजको तथ्यांक र लागत प्रस्तुत गरिएको थियो । सो समारोहमा सिंगापुर रेडक्रसका अध्यक्ष टिटुवाबाले मानविय सहयताका कार्यलाई सधैं जारी राख्ने र नेपाल र नेपालीप्रतिको सम्मान र मित्रवत व्यवहारमा कहिल्यै कमी आउन नदिने बताए ।

सिंगापुर सरकार र रेडक्रसको सहयोग भए पनि यसलाई कार्यान्वयन गर्न साझेदार संस्था, सरोकारवाला निकाय र नेपाल सरकारको ठुलो मद्दत रहेको बताए । समापन समारोहमा बोल्दै महासचिव विलियमले यस्ता सहयोगका कार्यलाई थप निरन्तरता दिन चाहेको उल्लेख गरे ।

रेडक्रसका महासचिव बेञ्जामिन विलियमद्धारा जारी गरिको प्रेस रिलिजमा भनिए अनुसार नेपालमा सिंगापुर रेडक्रसले ६० परियेोना सम्पन्न गरेको छ । १ लाख जनतालाई प्रत्यक्ष सहयोग पुग्ने लक्ष्यसहित सञ्चालित ४४ सरकारी स्कुल, २ सामुदायिक भवन, ६ धुम्तीशिविर, ४ स्वास्थ्यचौकी, ३ आवास गृह र १ पुस्तकालय निर्माण सम्पन्न गरेको छ । छोटो समयमा संघ–संस्थामार्फत गरिएकाले कामले चाँडो दिएको नत्तिजाले आफूलाई थप हौसला मिलेको सिंगापुर रेडक्रसका नेपाल प्रतिनीधि कल्पना क्षेत्रीले बताईन् । उनकै समन्वयमा सिंगापुरले नेपालमा मानविय सहायतको कार्य थालनी गरेको थियो ।

स्थानीय वाजागाजा र सांस्कृतिक झाँकीसहितको उक्त समारोहमा विभिन्न कुटनीतिक नियोगका प्रतिनीधि, सरोकारवाला मन्त्रालयका सचिव, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधि, सबै देशी तथा विदेशी साझेदार संस्था तथा सिंगापुरका जनता सहभागी थिए ।

LIVE TV