२२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको निर्वाचन चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न दिन लागेको हो ।

पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको हो ।

यसअघि बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार दुई सय सात जनाले मनोनयन दर्ता गराएको तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ ।
यद्यपि अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ । तेह्र हजार पाँच सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख/अध्यक्षमा एक हजार नौ सय २५, उपप्रमुख/उपाध्यक्षमा एक हजार चार सय २९, वडाध्यक्षमा १० हजार आठ सय ४१, प्रत्येक वडाबाट छनोट हुने दुई सदस्यमा १८ हजार तीन सय ७१ र महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

LIVE TV