काठमाडौँ । स्थानीय तह निर्वाचनको दिन अर्थात् वैशाख ३१ गते आइतबार निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारी साधन प्रयोग गर्न पाइनेछ । सवारी साधन चलाउन अनुमतिपत्र (पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गदै बिहीबार आयोगले निर्वाचनका दिन अनुमति प्राप्त सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो ।
निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, सञ्चारकर्मी, संवैधानिक निकाय, कूटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनालगायतले प्रयोग गर्ने सवारी साधनका लागि पास उपलब्ध गराउने कार्यविधि आयोगले स्वीकृत गरेको हो । मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्य योजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । काठमाडौँंमा आमसञ्चारका माध्यमलाई सूचना विभागको सिफारिसमा काठमाडौंँ जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । काठमाडौँं जिल्लाबाहेक
अन्य जिल्लाका मिडियालाई सम्बन्धित जिल्ला प्रशासनबाटै सवारी पास उपलब्ध गराइने छ ।
काठमाडौँ जिल्लाबाट प्रकाशन हुँदै आएका राष्ट्रिय दैनिक अखबार, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन समाचार, अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई पनि तोकिएको सङ्ख्यामा सवारी पास उपलब्ध हुनेछ । मिडियालाई समाचार सङ्कलन र कार्यालय प्रयोजनका लागि अलग व्यवस्था गरिएको जानकारी आयोगले दिएको छ । आयोगले स्थानीय तह निर्वाचनको मतदानका दिन उम्मेदवार र सुरक्षाकर्मीले सम्बन्धित निर्वाचन अधिकृतको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र राष्ट्रिय पर्यवेक्षक र लैङ्गिक अनुगमनकर्तालाई आयोगको सिफारिसमा प्रत्येक संस्थाका लागि बढीमा पाँच वटा हलुका सवारी साधन प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौँबाट अनुमति दिने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।