२२ बैशाख २०७४, शुक्रबार


काठमाडौंँ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचनका लागि दुई वटा महानगरमा चुनावी तालमेल भएको छ । दुई पार्टीबीच भरतपुर र पोखरा महानगरमा तालमेल भएको हो ।
बिहीबार भएको दुई पार्टीबीच सहमतिअनुसार चितवनमा काँग्रेसले माओवादीको उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको छ । पोखरामा माओवादीले काँग्रेसको उम्मेदवार रामजी कुँवरलाई सहयोग गर्नेछ । पार्टीका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार दुई स्थानबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार महानगर प्रमुखमा उमेदवारी फिर्ता लिएको पार्टीले उपप्रमुख पाउनेछन् । सहमतिअनुसार भरतपुरमा काँग्रेसको उपप्रमुखलाई माओवादीले समर्थन गर्नेछ भने पोखरामा माओवादीको उपप्रमुखलाई काँंग्रेसले समर्थन गर्नेछ ।
दुई पार्टीबीच काठमाडाँै र ललितपुरको मेयरमा पनि तालमेलका लागि छलफल भए पनि सहमति भएन । ‘अझै पनि तालमेलको लागि छलफल जारी छ,’ भुसालले भन्नुभयो, ‘तर निष्कर्ष नआउँदासम्म के हुन्छ नतिजा भन्न सकिन्न । ’ दुवै पार्टीले महानगरको उम्मेदवारी टुङ्गो लगाउने जिम्मा पार्टी केन्द्रीय नेतृत्वलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलले तालमेलको निर्णय गरेको बताइएको छ ।

LIVE TV