२१ बैशाख २०७४, बिहीबार
  • सुवास लामिछाने,

पर्वत । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गते घोषणा गरेपछि प्रहरीले सुरक्षा ब्यवस्थालाई कडा बनाएको छ । स्थानीय तहको चुनावलाई लक्षित गर्दै पर्बतमा शान्ति सुरक्षा मजबुद बनाइएको हो ।

निर्वाचनको मिति तोकिसकेको अवस्थामा अपराधिक क्रियाकलापहरु पनि सुरु हुने भएकोले त्यस्ता गतिविधिहरुका नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको हो । बैशाख ३१ गते हुने स्थानीय तहको चुनाबका लागि पर्बतका ५ बटै गाउँपालिका र २ बटा नगरपालिमामा शान्ति सुरक्षा कडा पारिएको छ ।

चुनाबका लागि केन्द्रीय सुरक्षा योजना अनुसार जिल्ला स्तरमा पनि सुरक्षा योजना तयार पारेर चुनावमा चाहिने सबै सुरक्षा मजबुद बनाइएको पर्बतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । चुनाबका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरीसंगै म्यादी प्रहरी पनि प्रत्येक मतदान स्थलमा खटाउने गरी तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्बतले पनि अहिले त्यहि अनुसार सुरक्षा ब्यवस्थालाई मजबुद बनाएको छ । मुख्यगरी निर्वाचन हुनु अगाडि, निर्वाचनको समय र निर्वाचनको नतिजासंगसंगै हुने क्रियाकलापहरुलाई ध्यानमा राखेर त्यहि अनुसार सुरक्षा ब्यवस्था तयार पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

जिल्लामा अहिले गाउँदेखि शहरसम्म चुनाबको तयारीका साथ सबैपक्ष लागिसकेकाले चुनाबी माहोल बढेको र त्यही अनुसार काम भईरहेको छ । प्रशासनले चुनाब हुनुभन्दा अगाडि र मतदानको दिनमा, मतदान सकिएपछि मतपेटिकाको सुरक्षा सम्मका कामलाई तयारीका साथ अगाडि बढाएको बताइएको छ ।

चुनाबी सुरक्षा अबस्थाका बारेमा पर्बतका प्रमुख जिल्ला अधिकारी मरासिनी सहितको टोलीले सबै गाउँपालिका तथा नगरपालिकाको सबै क्षेत्रको सुरक्षा अबस्थाका बारेमा स्थलगत रुपमा भ्रमण गरेर आईसकेको छ ।

 

LIVE TV