२१ बैशाख २०७४, बिहीबार
  • सुवास लामिछाने,

वागलुङ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै बागलुङ नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाहरु आ–आफ्नै चुनावी नाराका साथ प्रचार प्रसारमा जुटेका छन् । धौलागिरीको पहिलो बागलुङ नगरपालिकामा नेपाली काँग्रेसले एकल उमेदवार उठाएको छ भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरी साझा उम्मेद्वार उठाएका छन् ।

आ–आफ्नै नारा लिएर हिडेका मेयरका उम्मेद्वारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, ढल, आवासीय क्षेत्र, धार्मिक पर्यटन लगायत नगरको विकासलाई पहिलो प्राथमिकता राखेर समृद्ध बागलुङ निर्माणमा लाग्ने बताएका छन् ।

बागलुङ नगरपालिकामा ८ जना मेयर, ५ जना उपमेयर, वडा अध्यक्ष एवं सदस्यहरु सहित २ सय २७ जनाले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार बसन्तकुमार श्रेष्ठले शिक्षालाई प्याकेजका रुपमा विकसित गर्ने योजना रहेको बताए ।

नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका जनक पौडेलले सर्वप्रथम बागलुङ बजारको ढल व्यवस्थापन गर्ने र महिला, दलित, जनजातिको पहुँच बढाउन लागि पर्ने एवं मध्यपहाडी लोकमार्ग संग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विस्तार गर्ने उद्देश्य सहितको खाँका प्रस्तुत गरे ।

यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेद्वार कुसुम बुढाले व्यवस्थित शहरका रुपमा विकास गर्ने, कृषि हाट बजार लगायतका योजना अघि सारेका छन् ।

१४ वडा रहेको बागलुङ नगरपालिकामा कुल ३४ हजार ५ सय २८ जना मतदाता रहेका छन् ।

 

LIVE TV