२१ बैशाख २०७४, बिहीबार

झापा । झापामा विहीवारदेखि मेरो बर्ष २०७४ः म स्वास्थ्य, मेरो देश स्वास्थ्य अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रलायको नीति अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मेची अञ्चल अस्पताल भद्रपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै अभियान सुरु गरेको जनाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख १ गतेदेखि देशव्यापीरुपमा अभियान सुरु गरे लगतै झापामा बैशाख २१ गतेबाट अभियान सुरु भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुृख मधुसुदन कोइरालाले जानकारी गराए ।

यस अभियानमा म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, नियमित शारिरीक व्यायाम गर्छु, स्वच्छ र पोषिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गर्छ, मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु, भन्ने स्वास्थ्य जीवनको बारेमा ५ वटा प्रतिवद्धता समावेश गरिएको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए ।

कार्यालयका फोकल पर्सन ब्रजेस मेहताले स्वास्थ्य अभियानको बारेमा जानकारी गराउदै सरोकारबाला निकायसंग सहकार्यमा स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतमा रहेका रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने कार्यक्रमहरु राखिएको छ ।

त्यस्तै विद्यालयहरुमा प्रारम्भिक परीक्षण र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, सरकारी तथा निजी अस्पतालको सहकार्यमा स्वास्थ्य प्याकेज उपलब्ध गराउने र मेरो बर्ष मोबाईल एप्स मार्फत् स्वास्थ्य जानकारी गराउने लगायतको बिषय रहेको पनि मेहताले जानकारी गराए ।

 

LIVE TV